इलामः नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले वायुर्वेद उपचार पद्धतिमा रोज्न आग्रह गरेका छन् । मेची अञ्चल आयुर्वेद अस्पताल इलाममा बिहिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद खनालले सामान्य बिरामी हुँदा महँगा अस्पताल गएर औषधि खाइहाल्ने बानी त्यागेर आफ्नै जडीबुटीमा विश्वास गरेर आयुर्वेद औषधि प्रयोग गर्न सुझाव दिए ।
एन्टिबायोटिक औषधिको ‘साइड इफेक्ट’ बढी हुने भएकाले जति प्रयोग गरे पनि घरेलु जडीबुटीबाट खराब असर नगर्ने आयुर्वेद औषधि रोज्नुपर्ने उनको तर्क थियो । नेपालीको अविश्वासका कारण आयुर्वेद उपचार पद्धति ओझेलमा परेको बताउँदै उनले सबै नागरिकलाई आयुर्वेद उपचारमा विश्वास गर्दा दीर्घायु हुन सकिने बताए । नेता खनालले इलाममा पाइने जडीबुटीको निकासी प्रवद्र्धन र प्रशोधनका लागि पहल गर्नसमेत स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गरे ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेद कार्यालयका प्रशासन प्रमुख अम्बीका चौलागार्इंले सबैको प्रदेश सरकारले आयुर्वेदमा लगानी बढाइ रहेको जानकारी दिए । उनले सन् २०३० सम्ममा प्रदेश १ का सबै नागरिकको पहुँचमा आयुर्वेद उपचार पुग्ने गरी काम भइरहेको जानकारी दिए । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरपालिकाले समेत आयुर्वेद क्षेत्रका लागि बजेट विनियोजन गरेको जानकारी दिए । उनले तीनै तहका सरकार मिलेर आयुर्वेद उपचारलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
इलामको आईतबारेमा रहेको मेची आयुर्वेद औषधालय अव १५ शैयाको अस्पताल बनेको छ । प्रदेश १ सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा रहेको मेची आयुर्वेद औषधालयको सेवा बिस्तार गरि १५ शैयाको बनाईए पछि आयुर्वेद अस्पताल बनेको हो ।
प्रदेश १ सरकारको पहलमा स्तर उन्नती तथा सेवा बिस्तार गरी इलाम , झापा , पाँचथर र ताप्लेजुङमासेवा दिदै आएको औषधालयलाई अस्पतालको रुपमा संचालनमा ल्याईएको कार्यालय प्रमुख तथा आयुर्वेद बिज्ञ तिर्थ आचार्यले जानकारी दिए ।
अस्पतालमा अहिले पंचकर्म सेवा , सिरोधारा , स्थानीक वस्ती क्षार सुत्र , फिजियो थेरापी सेवा , अकुंपंकर सेवा , इमरजेन्सी सेवा , शसुल्क फार्मेसी सेवा , बिशेषज्ञ चिकित्सक सेवा र १५ शैयाको अस्पताल सहित सुविधा बिस्तार गरिएको छ । बिभिन्न जडीबुटीको प्रसोधनबाट औषधी निर्माण गरी उक्त औषधी र बिभिन्न बिधिबाट बिरामीको उपचार गरिदै आएको छ ।
आयुर्वेद बिज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारण सम्म आयुर्वेद पद्दती र यसको फाईदा बारे जानकारी गराउन सक्नु पर्ने बताए । कार्यालयमा अव २४ सै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए । कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय संचालन गरिदै आएको छ । आईतबारेमा अहिले दैनिक तीनसय बढीले आयुर्वेद पद्धतीबाट उपचार गराउदै आएका छन् ।
२०३८ सालमा स्थापना भएको उक्त कार्यालय अन्तर्गत रहेर इलामको मंगलबारे , इलाम बजार जमुना र एकतप्पामा सेवा संचालन गर्दै आएको छ । कार्यालयको सेवा बिस्तार गर्न इलामको माईजोगमाई गाउँपालिका , रोङ गाउँपालिका र माई नगरपालिकामा कार्यालय संचालन गरि थप सेवा बिस्तार गर्ने तयारी थालिएको छ ।