विराटनगरः प्रदेश नम्बर १ सरकारको गौरवको योजनामा रहेको विराटनगरको घिनाघाटदेखि पूर्वपश्चिम राजमार्ग विराटचौकसम्म पुग्ने घिनाघाट–विराटचौक चार लेन सडक निर्माणलाई समयमै सक्नका लागि मुख्यमन्त्री शेरधन राईल निर्देशन दिएसंगै निर्माण कार्यले तिब्रता पाएको छ ।
ग्रामथान गाउँपालिकाको नेताचौकमा तीन महिनाअघि प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक सिलान्यस गरेका थिए । दुई दशक अघिदेखि स्थानीय व्यवस्थित र दह्रो सडकको पर्खाईमा थिए । हाल आएर निर्माणले गति लिएको हो ।
दुईवटा प्याकेजमा विराटचौक र घिनाघाटतर्फबाट सडक ठेक्का लागि निर्माणको काम आसोजबाट शुरु भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले भने,‘‘रु. १ अर्ब २० करोडमा ठेक्का लागि काम शुरु भएको हो । घिनाघाटबाट मिलनचौकसम्म २ दशमलब ५ किमि सडक र घिनाघाट पुलको ठेक्का भने लाग्न बाँकी छ ।’’ श्रेष्ठले सबै काम तोकिएको समयमै पूरा हुने दाबी गरे । स्थानीयले समेत निर्माणको काममा कुनै अवरोध नगरेको बरु सडक क्षेत्रमा परको संरचना आफै हटाएको बताए ।
ग्रामथान गाउँपालिकाको केन्द्र तेतरियाका स्थानीय दीपनारायण माझीले सडक निर्माण हुन थालेपछि आफूहरु उत्साहित भएको सुनाए । भने,‘‘भत्किएको सडकमा हिलोकादो छिचोल्नु पर्ने अवस्थाबाट मुक्त हुने भइयो । प्रदेश राजधानी विराटनगर पुग्न सहज हुने भयो ।’’
मुख्यमन्त्री राईले घिनाहाघाट–विराटचौक २२ किलोमिटर चारलेन सडक प्रदेशकै गौरवको योजना भएको बताउँछन् ।प्रदेश राजधानी विराटनगर भित्रन र बाहिरिनका लागि यो सडक वैकल्पिक मानिन्छ । थारु बहुल क्षेत्र मानिएको ग्रामथानको बीचभागबाट सडक गएको छ । पुरानो तर बारम्बार मर्मत हुने र भत्कने सडक स्थायी रुपमा ४ लेन बन्ने भएपछि स्थानीयनमा ठूलो उत्साह छ ।
अहिले सकडका सबै भागमा दुबैतर्फको अवरोध हटाएर बाटो फराक पार्ने काम भईरहेको छ । कतिपय भागमा नाला निर्माणको कामले समेत गति लिएको छ । २२ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्प पनि मानिन्छ । सडक बजार क्षेत्रमा ६६ फिट र वस्ती भएको ठाउँमा भने ५६ फिटको हुनेछ ।