विराटनगरः मङ्गलबार विराटनगर १४ स्थित जतुवाको श्रीकृष्ण गौसेवा सदनमा जोडिएको ग्यास प्लान्टमा पुुग्दा प्राविधिक हरिकृष्ण श्रेष्ठ धमाधम काम गरिरहेका थिए । बायोग्यासका जानकार भारतीय इन्जिनियरसँग ग्यासको चाप मिलाउने मेसिन कम्प्रेसर मिलाउँदै गरेका भेटिएका श्रेष्ठलाई हामीले पहिलो प्रश्न गर्यौँ, ‘ग्यास त बन्द भयो रे हो ?’ आश्चर्य भावमा श्रेष्ठले भने, ‘कसले भन्यो ?, म त नियमित पहिलो चरणको मेसिनरी सर्भिसिङमा व्यस्त छु ।’
उनका अनुसार मेसिन जडान भएको ६ महिनाभित्र पहिलो सर्भिसिङ गरिसक्नुपर्छ । ग्यासको औपचारिक उद्घाटन भदौ ५ गते प्रधानमन्त्री केपी ओलीले गरे पनि सो मेसिनको जडान ६ महिनाअघि नै भएको हो । प्राविधिक श्रेष्ठले पहिलो ६ महिनामा सर्भिसिङ गरेको मेसिन बाँकी २–२ वर्षमा सर्भिसिङ गर्नुुपर्ने हुन्छ । सोही नियमित सफाइका लागि पाइपमार्फत् चुलोमा ग्यास पुर्याएका ३२ घरलाई पूर्वजानकारी दिएर गौसेवा सदनले एक हप्ता मर्मतका लागि जुटेको हो ।
बायोग्यासलाई पाइपमार्फत् ३२ घरमा पुुर्याइएको छ । करिब ८० घरमा ग्यास जोड्ने लक्ष्य लिए पनि सर्भिसिङको काम गर्नुुपर्ने भएको हुँदा १ हप्तापछि पुनः ग्यास सुचारु हुने गौशाला प्रशासनले जानकारी दिएको छ । गौशालाका सदस्य मोहिचन्द्र यादवका अनुसार प्राविधिक पक्षको काम सकिनेबित्तिकै नियमित ग्यास वितरण हुनेछ ।
प्लान्टमा जडित विभिन्न उपकरणको सफा गर्ने कार्य जारी छ । हाल ग्यास जम्मा हुने ब्लाडर, ग्यासलाई चापमार्फत् उपभोक्ताको भान्सासम्म पुर्याउने कम्प्रेसर मेसिनको सफाइ कार्य जारी छ । नियमित ग्यास पाइरहेका उपभोक्ताले बायोग्यास जडान सहज भए पनि यसको प्राविधिक पक्षलाई बलियो बनाइनुुपर्ने बताएका छन् । विराटनगर– १४ का भविश्वर मिश्रले विराटनगरमा पहिलो पटक सामुदायिक स्तरबाट उत्पादित बायोग्यास पाइपमार्फत् आफ्नो भान्सामा जोड्न पाउँदा हर्षित भएको भन्दै यसलाई प्राविधिक रुपले बलियो बनाउनुपर्ने तर्क गरे ।
गौशालामा भएका २ सय ५ वटा गाईको गोबरमार्फत् बायोग्यास उत्पादन गरी उपभोक्ताका भान्सामा पुुर्याइएको हो । हाल ३२ घरमा मात्र पाइपमार्फत् ग्यास पुुर्याइए पनि बाँकी ४८ घरमा चाँडै ग्यास पुुर्याइने योजना रहेको छ । करिब १ करोड २५ लाख लागतमा तयार भएको प्रोजेक्टमा नेपाल सरकार र वल्र्ड बैंकको आर्थिक सहयोग रहेको छ ।