विराटनगरः मोरङको झोराहाट नाटकघरमा मञ्चन भइरहेको मालिनी नाटक हेर्न दर्शकको चाप बढ्दै गएको छ ।
साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । नाटकको हालसम्म १६ वटा शो सम्पन्न भइसकेको छ । युवाकलाकार सुदीपजंग कार्कीले निर्देशन गरेको नाटकको मुख्य भूमिकामा भरत गुरागाईं देखिन्छन् ।
गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन् । गुरागाईंसहित अनु श्रेष्ठ, निराशा ढुंगेल, प्रज्वल काफ्ले, सुरज माझी, प्रदीप सरदार, दीक्षा चौधरी, शिवलाल सरकार, अजय सुवेदी, विजय थारु, दीपक निरौला, विवेक मिश्र, चन्दन माझी प्रवेश तिम्सिना र नुना कट्टेलले अभिनय गरेका छन् । समाजसेवी भक्तकिरण राईसँगको सहकार्यमा निर्माण भएको मालिनी हेर्न विशेष गरी विद्यालय र कलेजका विद्यार्थीहरुको भीड लाग्ने गरेको छ ।
यसअघि पनि झोराहाटमा विभिन्न नाटक मञ्चन भइसकेका छन् । नाटक मञ्चनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।
यता,आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा दिवसले करिब एक दर्जन कविता सुनाउनेछन् । सशुल्क हुने कार्यक्रममा विराटनगरसहित झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति हुने अर्का संयोजक रमेशचन्द्र अधिकारीको भनाइ छ । कवि सुनाउनकै लागि आधा विश्वभन्दा बढी घुमिसकेका दिवस संस्कृतिविद्समेत हुन् । उनको कविता वाचनशैली र आवाजलाई धेरैले मन पराउने गरेका छन् ।