विराटनगरःविराटनगरमा नसर्ने रोगहरूको उपचार गर्ने सुविधासहितको अत्याधुनिक प्राकृतिक ओम वेलनेश हस्पिटल आइतबारबाट शुभारम्भ भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हस्पिलको औपचारिक शुभारम्भ गरेका हुन ।
त्यस अवसरमा राईले प्राकृतिक चिकित्सा पद्धति भरपर्दो हुने र यसलाई निकै पहिलेदेखि नै प्रयोग गर्ने गरिएको चर्चा गरे । उनले भने,‘‘प्रदेश सरकारले पनि प्राकृतिक चिकित्सालाई प्राथमिकता र प्रोत्साहन गर्ने नीति लिएको छ ।’’ राईले प्रदेश १ सरकार जनस्वस्थ्यसंग सम्बन्धित कार्यक्रमलाई अघि बढाउने पनि बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरमा प्राकृतिक अस्पताल संचालनमा आउनुले स्थानीयलाई स्वास्थ्य उपचारमा टेवा पुग्ने बताए । भने,‘‘प्रदेश सरकारले पनि यस किसिमका प्राकृतिक उपचारमा संलग्न गर्ने संस्थाहरुलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।’’ प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले विराटनगर स्वास्थ्य सेवाको दृष्टिले निक्कै अब्बल बन्दै गएको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम घिमिरेले परापूर्वकालमा ऋषिमुनिहरुले प्रयोग गर्ने चिकित्सा प्रणाली अहिले आधुनिक सुविधासहित आउनु खुसीको कुरा भएको बताए ।
रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिएकी छन । उलने भनिन्,‘‘व्यस्त जीवनशैलीबाट अहिले विभिन्न किसिमका रोग उब्जेका छन् । अब तिनको उपचार सहज होस भन्ने सेवासहित हामीले अस्पताल शुरु गरेका छौं ।’’
उद्यमी, व्यवसायी तथा सामाजिक काम गर्दै आएका चार जना महिला शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र बिना कार्कीले काठमाण्डौको वेलनेस अस्पतालको सहकार्यमा अत्याधुनिक प्रविधियुक्त सुबिधासम्पन्न अस्पतालको निर्माण गरेका हुन् ।
अस्पतालमा रक्तचाप, मधुमेह, हृदयरोग, पक्षघात, मेरुदण्ड, नसा तथा हाडजोर्नीका समस्या, पिनास, दम, माइग्रेन, तनाव, पेटसम्बन्धि सम्पूर्ण रोगहरू, पाइल्स, महिनावारी समस्यालाई प्राकृतिक चिकित्साबाट प्रभावकारी उपचार प्रदान संचालक न्यौपानेले बताइन ।
फिजियोथेरापी, मसाज थेरापी, शिरोधारा, जलनेती, ज्याकुजी, साउनाबाथ, स्टिमबाथ, अक्युपञ्चर, अक्युप्रेसर, पुनस्र्थापना, योग तथा तनाव व्यवस्थापन, डाइट तथा न्युट्रीसनका माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ, प्रभावकारी उपचार हुनेछ । एलोपेथिबाट हार खाएका, दीर्घरोगीहरूको लागि प्रदेश १ मा उत्कृष्ट तथा गुणस्तरीय पद्दतिबाट उपचार गरिने अस्पतालकी बताइएको छ ।