विराटनगरः पर्यटन वर्ष २०२० को अवसरमा प्रदेश १ सरकारले प्रवद्र्धन गर्न पर्यटन दूत तोेकेको छ । दूतमार्फत पर्यटन वर्षको प्रचार प्रसारमा टेवा पुग्ने सरकारको अपेक्षा छ ।
पदेश सरकारले १४ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही कामिरिता शेर्पा, ८ हजार मिटर उचाईका १४ हिमाल आरोहण गरेका पासाङ शेर्पा, कलाकार दीपाश्री निरौला र भारतबाट मिस युनिभर्स २०१७ की विजेता पिंकी राजगढियालाई पर्यटन दूत घोषणा गरेको छ । राजगढियाको जन्म धरानमा भएको हो । धाविक मिरा राईलाई पनि दूत बनाउने तयारी गरेको छ ।
प्रदेश १ का उद्योग वन, पर्यटन मन्त्री जगदीश प्रसाद कुसियैतले कलाकारदेखि पवर्तारोहीसम्मलाई प्रदेश सरकारले पर्यटन दूत घोषणा गरेको हो । भने,‘‘पर्यटन वर्षको सफलताका लागि हामीले प्रदेशस्तरमा समेत तयारी गरेका छौं । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो ।’’ उनले संघीय सरकारले जनवरी १ मा पर्यटन वर्ष उद्घाटन गरे त्यस लगत्तै प्रदेश राजधानी विराटनगरको सहिद रंगशालमा भव्य समारोहबीच पर्यटन वर्ष उद्घाटन गरिने जानकारी दिए ।
प्रदेशस्तरीय कार्यक्रम सफल बनाउन सरकारले विभिन्न १२ वटा समिति गठन गरेको छ । मूल समितिको संरक्षक मुख्यमन्त्री शेरधन राई रहेका छन् भने संयोजक पर्यटन मन्त्री कुसियैत छन् । समारोह समितिका सभापति फडिन्द्र अधिकारीले विराटनगरमा पर्यटन वर्षको भव्य उद्घाटन हुने दाबी गरे । भने,‘‘हामीले सहिद रंगशालामा प्रदेशको पर्यटकीय क्षेत्र, सहनसहन, कला र संस्कृति झल्कने गरी पर्यटन वर्ष शुभारम्भ गर्दैछौं ।’’ उनले यसको तयारीमा तिव्रता दिइएको पनि जानकारी गराए । पर्यटन वर्ष शुभारम्भ हुन अब २० दिन बाँकी छ ।
संघीय सरकारले यसअघि तय गरेका प्रमुख पर्यटकी गन्तव्यहरुमध्ये महत्वपूर्ण गन्तब्य प्रदेश १ मा पनि रहेका छन् । ती क्षेत्रमा पूर्वाधार विकासदेखि पर्यटकको पहुँच बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री कुसियैतको भनाइ छ ।
उद्घाटनका अवसरमा भारतको पश्चिम बंगाल र बिहारका मुख्यमन्त्री अथवा पर्यटन मन्त्रीलाई प्रदेश १ मा आमन्त्रण गर्न संघीय सरकारसंग समेत छलफल भईरहेको बताइएको छ । यो क्षेत्रमा भारतकै पर्यटक अधिक आउने भएकोले यसमा ध्यान दिइएको मन्त्री कुसियैतले बताए ।