धरानः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विग्रिएर रहेका उपकरणहरु सञ्चालनमा ल्याइएको छ ।
अघिल्लो ब्यबसथापनले काम नलाग्ने र नयाँ खरिद गर्नु पर्ने भनेर बेवास्ता गरेको उपकरणहरु सामान्य मर्मतपछि सञ्चालनमा आएका हुन् ।
उपकरणहरु सञ्चालनमा आए सँगै प्रतिष्ठानको अस्पताल सेवामा सुधारका संकेतहरु देखिन थालेका छन् । प्रतिष्ठानका एक प्राविधिक कर्मचारीका अनुसार यस अघिको ब्यबस्थापनले कमिसनको चक्करमा मेसिनहरु मर्मत नगरि नयाँ खरिद गर्न लागेको थियो।
प्रतिष्ठानमा विरामीको उपचारमा प्रयोग हुने उपकरणहरु मर्मत गरेर सञ्चालनमा आएपछि उपचारका लागि आउने विरामीहरुले राहत महसुस गर्न थालेका छन् । प्रतिष्ठानको पुरानो ब्यबस्थापनले विग्रिएको उपकरणहरु काम नलाग्ने र नयाँ खरिद गर्नु पर्ने भनिएका उपकरणहरु मर्मतपछि सञ्चालनमा आएका हुन् ।
प्रतिष्ठानका कार्यबाहक उपकुलपती प्राडा गुरुप्रसाद खनाल र डेपुटी अस्पताल निर्देशक डा दिलिप ठाकुरको पहलमा उपकरणहरु मर्मतपछि सञ्चालनमा आएका हुन् ।प्रतिष्ठानका कार्यबहाक उपकुलपती प्राडा गुरुप्रसाद खनालका अनुसार प्रतिष्ठानमा लामो समयदेखि थन्क्याएर राखिएको अक्सिजन प्लान्टका सञ्चालनमा ल्याइएको छ । झण्डै एक बर्ष अगाडी अस्पताल निर्देशक गौरिशंकर शाहले अक्सिजन प्लान्ट पुनः सञ्चालन गरेको भन्दै तत्कालिन उपकुलपती राजकुमार रौनियारबाट उद्घाटन गराएका थिए ।
त्यसको सात दिन पछि प्लान्ट पुनः विग्रिएर बन्द भएको थियो । अहिले सोही प्लान्टलाई निरन्तर सञ्चालन गरिएको छ । कार्यबाहक उपकुलपती खनालले भने ‘म जिम्मेवारीमा आउनु भन्दा अगाडी के भयो मलाई थाहा छैन तर म आउदा प्लान्टहरु बन्द थिए,अहिले सञ्चालनमा आएको छ ।अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि प्रतिष्ठानको अक्सिजन खरिदमा हुने लाखौ रुपैया आर्थिकभार कम भएको छ ।
प्रतिष्ठानमा बन्द रहेको क्याथ ल्याब (मुटुको उपचारका लागि प्रयोग हुने शल्यकृया कक्ष)पनि सञ्चालनमा आएको छ । झण्डै एक बर्षदेखि प्रतिष्ठानको आकष्मिक कक्ष तथा सेन्टर ल्याबमा रहेका सिटी स्क्यान मेसिनहरुपनि सञ्चालनमा आएका छन् । अहिले प्रतिष्ठानको आकष्मिक कक्षमा १६ स्लाईसको मेसिन जडान गरिएको छ । यो दातासँग सहकार्य गरेर सञ्चालनमा ल्याइएको हो । यो सँग आकष्मिक कक्षमा रहेको एक्सरे मेसिनपनि सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानको सुचना शाखाले दिएको जानकारी अनुसार प्रतिष्ठानमा रहेका नौ वटा भिडियो एक्सरे मेसिनहरु विग्रिएर थन्किएका थिए ।
अहिले नौ वटा मध्ये सात वटा मेसिन सञ्चालन भएका छन् । अहिले विरामीहरुलाई भिडियो एक्सरे गर्न पहिले जस्तो सास्ती परेको अबस्था छैन प्रतिष्ठानका डेपुडी अस्पताल निर्देश दिलिप ठाकुरले भने ।प्रतिष्ठानको अप्रेसन कक्षमा फोके सिस्टम र एनपिएल सिस्टम जडान गरिएको छ । यो सिस्टम जडान भएपनि प्रतिष्ठानको सर्जरी विभाग र नाक,कान,घाटी तथा युरोलोजी (मुत्र नलि तथा मुत्र थैली)को उपचारमा सहजता मिलेको कार्यबाहक उपकुलपती प्राडा गुरुप्रसाद खनालले बताए ।‘हामीले आकष्मिक कक्षमा भएको समस्यालाई समाधान गर्न बन्दै गरेको भवनको निर्माण कार्य अगाडी बढाई सकेका छौ उनले भने अब ३ देखि ४ महिनाभित्रमा उक्त भवन सञ्चालनमा आउछ । यस अघि तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादबको निर्देशमा भवन निर्माण कार्य रोकिएको थियो ।
अस्पतालको फार्मेसी भवन र एच टाईप होस्टल निर्माणको कार्यपनि अगाडी बढाईएको उनले बताए । हामीले अहिले विद्यामान रहेका समस्यालाई तत्काल समाधान गर्ने गरि कार्य गरिरहेका छौ,धेरै समस्याहरु समाधानको चरणमा छन् खनालले भने । हामीले डायलासिस गर्ने विरामीहरुको चापलाई ध्यानमा राखेर नया वार्ड नै निर्माण कार्य सुरु गरेका छौ ।अब चार महिना भित्रमा २८ मेडको डायलासिसको छुटै वार्ड सञ्चालनमा आउने छ । अहिले डायलासिसको १५ वटा नयाँ मेशिन खरिदको सम्झौतापनि भई सकेको उनले बताए । प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक ठाकुरका अनुसार अस्पताल सेवा तर्फका समस्याहरुलाई केलाएर प्राथमिकताका आधारमा समाधान गर्न थालिएको बताए ।
‘हामी देखिएका समस्यालाई समाधान गर्ने र विरामीलाई सहज उपचारको ब्यबस्था मिलाउन प्रयत्नशील छौ ’ उनले भने हामी क्रमशः समस्या समाधान गर्दै जाने छौ । प्रतिष्ठानको सुचना शाखाका अधिकृत धुब्र नेपालका अनुसार प्रतिष्ठान भित्रको ब्यबस्थापकीय अन्योलताका कारण रोकिएका धेरै कार्यहरु अहिले अगाडी बढेका छन् । नयाँ ब्यबस्थापनले प्राथमिकताका आधारमा समस्याहरु समाधान गर्दै गईरहेको छ,अब समस्याहरु समाधानको चरणमा रहेका छन् उनले भने ।