धरानः इलाममा उत्पादन भएका किबि फलको बजारीकरणका लागि धरानमा किबि एक्स्पो २०७६ हुने भएको छ ।
धरान उपमहानगरपालिका र ईलाम नगरपालिकाले मितेरी सम्बन्ध गासिए पछि ईलामको पर्यटन प्रवद्र्धन संगै धरानको पनि पर्यटन प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएको छ । यसै बिच धरानमा पुष ३ गते देखि दुई दिन किबि एक्स्पो हुन लागेको हो ।
इलाम उद्योग वाणिज्य संघको आयोजना तथा इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन) इलाम, सन्दकपुर गाउँपालिका, सुनसरी उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिकाको सहआयोजनामा किवी एक्स्पो हुन लागेको हो । दुई दिने एक्स्पो धरानको छाताचोकस्थित सोमबारे हटिया लाग्ने ठाउँमा हुने आयोजकले जनाएको छ ।
एक्स्पोमा कुल १० स्टल हुनेछ । ती मध्ये ७ वटा किवीको मात्र स्टल हुनेछ भने ३ वटामा इलाममा उत्पादन भएको ग्रिन टि, घिउ, ललीपपलगायत अन्य खाद्य वस्तुहरुको स्टल हुने इलाम उद्योग वाणिज्य संघका सचिव श्रीबहादुर विष्टले जानकारी दिए । ईलाम उद्योग वाणिज्य संघको आयोजनामा हुने किबि एक्स्पोमा ईलामका किबि कृषकहरुले उत्पादन गरेका गुणस्तरिय किबिहरुको स्टल रहने भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गरि दुवै नगरको विकाश र पर्यटन प्रवद्र्धनमा एक्स्पोले टेवा पुर्याउने विश्वास लिईएको छ ।
एक्स्पोमा प्रत्येक स्टलबाट १ हजार केजीका दरले करिब ७ हजार भन्दा बढी किबिको कारोबार हुने अपेक्षा गरिएको छ । एक्स्पोमा किबिको मात्रै करिब २१ लाख रुपैयाको व्यापार हुने आयोजकले जनाएको छ । किबि फलको प्रचार प्रसार संगै बजारीकरण र परिकारहरुको सम्बन्धमा छलफल पनि हुने भएको छ । ईलामका किबि कृषकहरु संग धरानमा किबि खेतीको सम्भावनाको विषयमा पनि छलफल हुने आयोजकले जनाएको छ ।
एक्स्पो अवलोकनमा आउनेहरुलाई निःशुल्क किवीको स्वाद पनि चखाइने भएको छ । धरानको एक्स्पोकै लागि किसानहरुलाई किवी टिप्न नदिएर राखिएको किवी खेतीका अगुवा तथा किवी जोनको सञ्चालक समितिका सचिव गंगा विष्टले जानकारी दिए । उनका अनुसार धरानको एक्स्पोमा अत्यन्तै गुणस्तरीय किवी फल ल्याइनेछ ।
विष्टका अनुसार इलाम किवी ब्राण्ड लेवल गरिएको किवी धरानको एक्स्पोमा हुनेछ । ‘हेवार्ड जातको उच्चगुणस्तरको किवी यहाँ ल्याउछौं, इलामको वगानमा पाउने होलसेल मुल्यमा बिक्री गछौं । यो किवी नेपालमा विदेशबाट आउने गर्छ,’उनले भने,‘ग्रीन किवीको स्पेशल, ए, बि र सि ग्रेड हुन्छ । अहिले धरानमा बि र सि ग्रेडको मात्र छ, हामी स्पेशल र ए ग्रेडको किवी ल्याउछौं ।’