विराटनगरःरकम अभावले उपचार गराउन नसकेका विराटनगर—५ शंकरबारीका श्यामलाल सतारलाई न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्टका छोरा ऋतिक विष्टले उद्धार गरेका छन् । अभावका कारण उचित उपचार गराउन नसकेका सतारको मस्तिष्कभित्र रक्त नली फुटेको थियो ।
उच्चरक्तचापका बिरामी रहेका सतार विगत ३ वर्षदेखि औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो एक महिनायता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो । बिरामी सतारकी श्रीमती सुशीला सतारले भनिन्,‘‘अरु अस्पतालमा उपचार गर्न लगेपनि सकिएन तर न्यूरोले हामीलाई ठूलो सहयोग ग¥यो ।’’
दुई छाक टार्दै आएको सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० वर्षीय श्यामलालको अवस्था निकै पीडादायी थियो । ऋतिकले श्यामलाललाई न्यूरो हस्पिटलमा ल्याएर निःशुल्क उपचार सुरु गरिएको बताए । भने,‘‘हामीले सामाजिक रुपमा अति नै विपन्न भएका श्यामलाललाई सानो सहयोग गरेका हौं ।’’ उनको न्यूरो कृटिकल केयर युनिटमा उपचार भइरहेको विष्टले बताए ।
आइतबार गाईलाई हेर्न गएका बेला श्यामलाल गोठमै ढलेका थिए । तत्कालै उस्पताल लगे पनि पैसाको अभावले उपचार हुन सकेको थिएन । ऋतिक काठमाण्डौं मेडिकल कलेजमा एम.बि.बि.एस अध्यनरत छन् ।