इटहरीः इटहरी बजार क्षेत्रको सडक निर्माण मापढण्ड भित्र बनाउनु पर्ने माग राख्दै इटहरीस्थित रानी धरान सडक आयोजनाको कार्यालयमा धर्ना दिइएको छ ।
६ लेन सडक संघर्ष समिति इटहरीले कार्यालयको गेटमा धर्ना दिदै इटहरी भित्रको बिराटनगर लाईनदेखि नेपाली सेनाको क्याम्पसम्म ८२ फिट कायम गरी सडक निर्माण गरिनु पर्ने बताइएको छ ।
सडक आयोजनालाई दबाब दिने उदेश्यले प्रत्येक बिहान एक घण्टा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितीका संयोजक मदन चुडालले जानकरी दिए ।
चुडालले इटहरीको सडक निर्माणमा आर्थिक चलखेल गरी ८२ हुनुपर्नेमा ६५ फिट कायम गरी सडक निर्माण गरिएको प्रति बिरोध रहेको बताए । उनले इटहरीको भबिष्यसँग जोडिएको बिकासमा कसैले पनि अबरोध गर्न नहुने धारणा राखेका थिए ।
संघर्ष समितिले बाटो निर्माण मापढण्ड भित्रै निर्माण हुनु पर्ने माग राख्दै यस अघि आयोजनाको मुख्य कार्यालय बिराटनगरमा समेत ध्यानाकर्षण पत्र बुझाएको थियो । समितिले इटहरी उपमहानगरपालिका समक्ष पनि ज्ञापन पत्र बुझाउदै इटहरीमा बाटो फराकिलो बनाउने कुरामा स्थानिय निकाय समेत सचेत हुनु पर्ने माग गरेको थियो ।
समितिले मंगलबार इटहरीका जनप्रतिनिधिहरुसँग पनि बाटोको बिषयमा अन्तरकृया गरेको छ । अन्तरकृयामा इटहरीको बजार क्षेत्रमा निर्माण भइरहेको सडक अन्य सडक जस्तै एउटै मापदण्ड भित्र बन्नु पर्ने कुरामा जोड दिइएको थियो ।
समितिकै दबाब पछि केही दिन अघि पुनः पत्राचार गर्दै आयोजना कार्यालयसँग कागजात मागेको इटहरी उपमहानगरपालिकालाई कागजात नदिएकोमा समेत समिति आक्रोशित छ ।
उपमहानगरपालिकाले कागज माग्दै दोस्रो पटक पत्र काटेको थियो । तर कार्यालयले न त जवाफ फर्काएको छ, न त कागजात नै दिएको छ ।

आयोजनाले औपचारिक पत्राचार गरेरै कागजात बुझाउन समस्या भएको जनाएको छ । इन्जिनियर गौतमकुमार देवका अनुसार हेर्न खोज्ने जो कोहीलाई कागजात उपलब्ध गराउन समस्या छैन । ‘तर पत्र नै लेखेर कागजात कसरी दिने भन्ने समस्या भएको छ,’ उनले भने, ‘यही विषयमा छलफल गर्न आयोजना प्रमुख काठमाडौ विभागमा जानुभएको छ ।’
सडक आयोजना कार्यालयले उपमहानगरपालिकाले काटेको पत्रको सम्बन्धमा सम्बन्धित विभागलाई जानकारी गराएको र सोही विषयमा छलफल गर्न कार्यालय प्रमुख काठमाडौ गएको जानकारी दिएको छ । ‘पत्र त आयो, तर हाम्रो पनि माथिल्लो तह छ, जानकारी गराउनु पर्यो,’ अख्तियारले मागेको समयमा कागजात दिन सकिने बताउँदै उनले भने, ‘लुकाएको पनि छैन, फोटोकपी पनि दिन सक्छौं, तर पत्रै लेखेर नगरपालिकालाई कागजात दिन हायर्कीले दिएन ।’