ताप्लेजुङःवर्षौदेखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का दुर्गा न्यौपाने सुन्तलामा औँसाको प्रकोप बढ्न थाले पछि चिन्तित छन् । पाक्ने समयमा औँसा प्रकोपले बोट नै रित्तिन थालेपछि आम्दानीकै बाटो बन्द हुने भन्दै न्यौपाने चिन्तित बनेकाहुन् । “कहिले असिनाले बोट नै रित्तो बनाईदिन्छ, कहिले रोगले हैरान बनाउँछ, सुन्तला खेतीमा गरेको लगानी र पसिना त्यसै खेर जाने भयो”–न्यौपानेले भने । उनले करिब ८ वर्ष अघिदेखि व्यवसायिकरुपमा सुन्तला खेती गर्दै आएकाछन् । सोहि ठाउँकै अर्का किसान कृष्ण कार्कीको बगानमा नपाक्दै झरेका सुन्तलाले भुँई ढाकेको छ । वर्षेनी विभिन्न रोगकिराको समस्या भौग्दै आएका कार्कीको बगानमा समेत औँसाको प्रकोप फैलिएको छ । यसरी यहाँका अधिकांसा सुन्तला किसान औँसाको प्रकोपले बोट नै रित्तिन थाले पछि चिन्तितछन् ।

करिब महिना दिनयता हरेक बोटबाट दैनिकजसो सुन्तला पहेँलो भएर झर्ने गरेको कृषकले बताएकाछन् । सुन्तलामा मात्रै नभई जुनार, कागती, ज्यामिरलगायतका फलफूलमा यस्तो संक्रमण फैलिएको छ । सुन्तला संगै लगाईएको अलैँची खेतीबाट समेत किसान सन्तुष्ट छैनन् । अन्य अन्नबाली उत्पादन हुने खेतबारी मासेर सुन्तला र अलैँची खेती गरेका किसान दुवै खेतीबाट निरासछन् । सुन्तलामा रोगकिराको संक्रमण र अलैँचीले राम्रो मूल्य नपाए पछि निरास बनेकाहुन् । यता बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा भएकाले झरेका फल व्यवस्थित तरिकाले व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको कृषि प्राविधिक बताउँछन् ।

वर्षेनी बढ्दै गएको औँसा किराको प्रकोपलाई तत्काल नियन्त्रण गर्न नसके आगामी वर्ष सम्ममा जिल्लाका सबै स्थानमा यसको प्रकोप फैलने जोखिम रहेको कृषि प्राविधिकको प्रक्षेपण छ । “अहिले सुन्तलामा देखिएको प्रकोप नियन्त्रणका लागि झरेका फलहरुलाई संकलन गरि गहिरो खाल्डो खनेर माटोले पुर्नुपर्छ”–कृषी ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङकि प्राविधिक सहायक सिर्जना बयलकोटीले भनिन् । उनका अनुसार यसरी पुर्दा लार्भा जमिनमा आउन पाउँदैनन् र नियन्त्रण हुन्छ । विषादीको प्रयोग गरेर भन्दा पुरेर वा यसरी लार्भा सहित झरेका सुन्तलालाई पानीमा उमालेर पनि नष्ट गर्न सकिने प्राविधिकहरुको भनाई छ ।