ताप्लेजुङःकिराँत समुदायको बाक्लो बसोबास रहेको क्षेत्र ताप्लेजुङ सहितका पुर्वि पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाँउने पर्व चासोक तङ्नाम सुरु भए संगै यसको रौनकताले छपक्कै छोपेको छ ।

ताप्लेजुङमा भने बुधबार र विहिबार दुई दिन सम्म विभिन्न साँस्कृतिक कार्यक्रम सहित यो पर्व मनाँईदै छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामुहिक रुपमा पुजाआजा सहितका कार्यक्रम आयोजना गरि चासोक तङ्नाम मनाउँदैछन् । धान्य पुर्णिमाका दिन लिम्बू सहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादरको रुपमा यस पर्वलाई मनाउँदै आएकाछन् ।

लिम्बू समुदायमा आदिमकालदेखि नै न्वागी पुजा गरि अन्नप्रति सम्मान गर्ने गर्ने परम्परा छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) को रुपमा मान्ने गर्छन् । धान पाक्ने सिजन कार्तिकदेखि धान्य पुर्णिमा सम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पुजाको रुपमा समेत लिईन्छ ।

‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा पुजाआजा सहित आयोजना गरिन्छ । पर्वमा किराँत समुदायको परम्परागत भेष–भूषा र गर–गहनाको पहिरन सहित पालाम, धान नाच र च्याब्रुङ नाच समेत नाच्ने गरिन्छ । ताप्लेजुङमा यो वर्ष पर्वका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिता आयोजना भएको छ ।

चासोक तङ्नाम पर्व केहि वर्ष अघि सम्म एक दिन मात्रै मनाउँने गरिए पनि पछिल्लो समयमा विभिन्न कार्यक्रम सहित दुई–तीन दिन सम्म मनाउँने प्रचलन सुरु भएको छ । ताप्लेजुङमा यो वर्ष बुधबार र विहिबार दुई सम्म मनाँईदै छ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति र फुङलिङ नगर कार्य समितिले संयुक्त रुपमा पर्व विशेष विभिन्न कार्यक्रम आयोजना गरेकाछन् ।

यता किराँत समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किराँत समुदाय विशेष संघसस्था पनि सकृय हुनथालेकाछन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्ष संग आव्हान गरेको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य भद्र बोखिमले बताउनुभयो । चासोक तङ्नाम लिम्बू समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा धुमधामले मनाउँने गरिन्छ । यस्तै विदेशमा बसोबास गर्दै आएका लिम्बू समुदायले समेत चासोक तङ्नामका अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँने गरेकाछन् ।