मोरङः गुद्री बजार खाली गराउन विराटनगर महानगरपालिकाले अल्टिमेटम दिएपछि विराटनगर ‘इ’ प्लटका व्यापारी आन्दोलित भएका छन् । उनीहरुले गुद्री बजार खाली गर्न नदिने अडान लिदै सडकमा उत्रिएका छन् ।
महानगरपालिका छाडेर आफूहरु स्थानान्तरण हुन नसक्ने भन्दै व्यापारीले महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए । बुधबार विरोध प्रदर्शन गरेका हुन् । महानगरले विराटनगर हनुमान मन्दीर पूर्व तर्फ रहेको तरकारी बजारमा बजार सार्ने बताउँदै मंसिर ५ गते गुद्री बजार खाली गराउन सूचना सार्वजनिक गरेको थियो । थोक तथा खुद्रा व्यापारीले गुद्री बजारबाट ३१ वर्षदेखि तरकारी, फलफूल, माछा, मासु बिक्री गर्दै आएका छन् । महानगरपालिकाले मोरङको कटहरी गाउँपालिका–१ मा निर्माण भएको फलफूल तथा तरकारी थोक बजारमा गुद्री बजार सार्ने तयारी गरेर त्यही अनुसारको सूचना सार्वजनिक गरेको छ ।
विश्व बैंकको सहयोगमा कटहरी गाउँपालिका १ मा ५ बिगाहा २ धुर क्षेत्रफलमा अत्याधुनिक फलफूल तथा तरकारी थोक बजार निर्माण भएको छ । १५ करोड ४९ लाख रुपैयाँमा निर्माण भएको यो बजारलाई संघीय सरकारले प्रदेश १ सरकारलाई बुझाएपछि कार्यविधि बनाएर गुद्री बजार सार्न खोजिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।
बजारमा थोक बिक्री कक्ष ३८, कृषक बिक्री सेड १, खुद्रा स्टल एक, ३० वटा स्टल कम्तिमा, प्रशासकीय भवन एक, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा छ ।