विराटनगरःसडक निर्माणमा दक्षिण अफ्रिकामा सफल मानिएको प्रविधिको विषयमा प्रदेश १ सरकारसहित स्थानीय तहलाई जानकारी गराइएको छ ।
दक्षिण अफ्रिकाको कम्पनी 88 CHEMCO ले नेपालस्थित अनिक ओभरसिज नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईसहित स्थानीय गाउँपालिका तथा नगरपालिकाका प्रमुख सहभागी थिए ।
प्रविधिको प्रयोगको विषयमा जानकारी गराउँदै दक्षिण अफ्रिकाबाट आएका कम्पनीका प्रतिनिधिले उत्पादन तथा सस्तो मूल्यमा गर्न सकिने निर्माणबारे जानकारी गराएका थिए ।
नेपाल जस्तो देशका लागि ग्रामीण र सहरी क्षेत्रमा अहिले जारी अलकत्रा प्रयोग गरेर सडक निर्माण गर्ने प्रविधिभन्दा सिआरपी नामक केमिकल्स प्रयोग गरेर बनाइने सडक टिकाउ र सस्तो पर्ने जानकारी गराएका थिए । अहिले यस्तो प्रविधि अपनाएर मलेसिया, सोमालिया, तान्जानिया, इन्डोनेसिया र नेपालमा समेत प्रयोगका रुपमा सडक निर्माण गरिएको जानकारी दिइयो ।
प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव राजेशप्रसाद घिमिरेले मोरङको थलाहामा सिआरपी केमिकल्स प्रयोग गरेर एउटा सडक प्रयोगका रुपमा निर्माण गरेर बनाइएको जानकारी दिए । भने,‘‘ नेपाली सेनाको सूर्यदल गण नजिकै यस्तो प्रविधिको प्रयोग गरेर सडक निर्माण गरिएको छ । थप सडकका विषयमा प्रदेश र स्थानीय सरकारहरुले निर्णय गर्ने हुन ।’’ उनले सस्तो दरमा सडक निर्माण गर्ने भनिए पनि खर्च र टिकाउबारे सडक स्थानीय सरकारका प्रमुखहरुमा समेत जिज्ञासा रहेको सुनाए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार ग्रामीण भेगमा धुले सडकलाई समेत केमिकल लगाएपछि धुलो नउड्ने र पाँच वर्षसम्म टिकाउ हुने बनाउन सकिन्छ । एनिकका नेपालका प्रतिनिधि प्रकाश टिबडेवालले सडक निर्माणबारे धेरै जिज्ञासा रहेको जनाए । भने,‘‘सहरी क्षेत्रमा पनि सडकलार्य किफायती खर्चमा निर्माण गर्न सकिन्छ ।’’ कार्यक्रममा दिइएको जानकारी अनुसार प्रति एक किलोमिटर सडक निर्माण गर्न रु. ५० लाख खर्च लाग्छ तर अहिलेको कालोपत्रे लगाउने प्रविधिमा सडक निर्माण गर्न रु. १ देखि डेढ करोडसम्म खर्च हुन्छ ।
कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले नयाँ प्रविधिलाई प्रयोग गर्न सकिने तर कम्पनीले उपलब्ध गराउने सेवा तथा यसको टिकाउपनको विषयमा भने आम मानिसमा जिज्ञासा रहेको बताए । भने,‘‘नयाँ नयाँ प्रविधिले विकास निर्माणलाई झन सहज बनाउँदै लगेको अवस्थ छ ।’’ उनले प्रदेश १ पनि विकासमा क्रमशः गतिशील बन्दै गएको सुनाए ।
88 CHEMCO ले आफ्नो उत्पादन सहज रुपमा उपलबध गराउने पनि कम्पनीका प्रतिनिधिले जनाए । कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, प्रदेश प्रमुख सचिव सुरेश अधिकारीलगायत सहभागी थिए ।