धरानःनेपालमा रहेका सबै धार्मिक समुदायलाई समान व्यवहार हुने प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले प्रतिबद्धता जनाएका छन् ।
धरानका इसाईहरुद्धारा आयोजना गरिएको ख्रिष्टमस महोत्सव–२०७६ को उदघाटन गर्दैै सभामुख भण्डारीले सरकारका कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखहरुको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनु भनेको पनि सरकारले सबै धार्मिक समुदायलाई समान व्यवहार गर्छ भनेर बुझिदिन ख्रिष्टियन समुदायलाई आग्रह गरेका छन् । उनले भने, “कसैले थोरै छ भनेर हेप्न पाउदैन, राज्यको कुनै खास धर्म हुँदैन तर सबैलाई समान दृष्टिले व्यवहार गरि आफ्ना धर्म मान्न र अभ्यास गर्न पाउने अधिकार प्रदान गरेको छ ।”
सभामुख भण्डारीले आगमी पुष ९ गते क्रिसमस डे परेको हुनाले सार्वजनिक विदा हुने बताएका छन् । संघीय सरकारले क्रिश्चियनहरुका लागि मात्र विदा दिने निर्णयमा पुर्नविचार गर्ने र सार्वजनिक विदा दिने तयारी गरेको भन्दै सबै ख्रिष्टियनहरुको खुशीयाली र महान पर्वमा सहभागिता जनाउने बताए ।
कार्यक्रममा नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बोले संविधानमा धर्मनिरपेक्षताको व्याख्यामा गलत शब्द प्रयोग भएको र सोही अनुसार कानुन बनेका कारण ख्रिष्टियन समुदायलाई अप्ठ्यारो परेको हुनाले त्यसलाइं संशोधन गर्न र कानून परिवर्तन गराउन कम्युनिष्टहरुलाई साथ दिनुपर्ने बताए । क्रिश्चियन र कम्युनिष्टको उद्देश्य समतामुलक समाज निर्माण नै भएको हुनाले आगमी दिनमा पनि सहकार्य जारी रहने बताए ।
उद्घाटन समारोहमा १ नम्बर प्रदेश इसाई समाजका अध्यक्ष पाष्टर विक्रम बर्णवास यक्तेनले येशु ख्रिष्ट सबै मानिसका लागि जन्मनु भएको भन्दै संसारभरका मानिसहरु क्रिसमस डेमा खुशीयाली हुनुपर्ने बताए । उनले क्रिश्चियनहरुलाई राज्य र समाजले फरक रुपमा नबुझी नेपाली क्रिश्चियनहरु देश र समाजका लागि दिनरात प्रार्थनामा लागेको बताए । शुक्रबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा धरानका इसाई तथा गैरइसाईहरुले सामुहिक रुपमा खुशीयाली बाढेका छन् ।
दुई दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा धरानका ७० भन्दा बढि चर्चहरुको सहभागिता रहेको छ भने महोत्सवमा गित संगितका साथै २१ वटा विभिन्न व्यवसायिक स्टलहरु समेत रहेका छन् । उक्त महोत्सवमा ३० हजार भन्दा बढि आन्तरिक र बाह्य पर्यटकहरुको भ्रमण हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष पाष्टर महेन्द्र जंग साम्पाङले जानकारी दिएका छन् ।