ताप्लेजुङःहिमाली जिल्ला ताप्लेजुङमा हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा संगै हिमपात सुरु भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फले लगायतका वस्तिमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपात भए संगै जिल्ला भर चिसो बढेको छ । २५ सय मिटर भन्दा माथी रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढि प्रभावमा परेका छन् भने सामान्यतया जिल्ला भर नै तुलनात्मक रुपमा चिसो बढेको स्थानीयको भनाई छ ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थाई प्रहरी चौकि फेदीका ईन्चार्ज धनराज तुम्बापो लिम्बूले जानकारी दिए । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाईमा पर्छ । उनका अनुसार शुक्रबार दिउँसोदेखि नै हल्का वर्षा सहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।