ताप्लेजुङःशुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपात पछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भईरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेप लगायतका स्थानीयको जनजीवन कष्टकर बनेको छ । ‘बाहिर १ फिट भन्दा बढि हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन’–घुन्साबाट टाँसी तेन्जिङ शेर्पाले भने ।

उत्तरी क्षेत्रका करिव ३ हजार मिटर भन्दा माथीका हिमाली भेगमा लगातार हिमपात भईरहेको छ । अत्याधिक चिसोको कारण वृद्धवृद्धा र बालबालिका बढि प्रभावित बनेकाछन् भने पशु चौपायलाई समेत समस्या भएको स्थानीयले बताएकाछन् । ‘हामी त जाडो थेग्न सक्छौँ, बुढाबुढि र बच्चाबच्चिलाई चिसोले सताउने हो, अत्याधिक चिसोले घर बाहिर निस्कन सकिएको छैन, पशुचौपायको स्याहार गर्न पनि गाह्रो छ, घर भित्रै आगो तापेर चिसो कटाईरहेका छौँ’–ओलाङचुङगोलाकि यमुना सिवाले भने ।

लामो समय पछि भएको वर्षाले किसानलाई फाईदा भए पनि वर्षा सहितको हिमपातले चिसो बढे पछि भने समस्या भएको स्थानीयले बताएकाछन् । यता ३ हजार ७ सय ९४ मिटरको उचाईमा पर्ने पाथीभरा क्षेत्रमा समेत हिजोदेखि नै बाक्लो हिमपात भईरहेको छ । सो क्षेत्रमा २ फिट बढि हिउँ जमेको स्थानीय होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले जानकारी दिए । ‘हिजोदेखि नै बाक्लो हिउँ परिरहेको छ, झण्डै २ फिट हिउँ जमिसक्यो, फाट्टफुट्ट मानिसहरु मन्दिर जाने आउने गरिरहेकाछन्’–भट्टराईले भने । जिल्लाको सदरमुकाम फुङलिङमा समेत निक्कै चिसो बढेको छ । यता यम्फुदिन, कालिखोला, पापुङ लगायतका क्षेत्रमा समेत चिसो बढेको स्थानीयले बताएकाछन् । ताप्लेजुङमा आज विहानको तापक्रम ४.६ डिग्रि सेल्सियस रहेको पुर्वि क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको छ ।