विराटनगरः आइतवार बिहानै ताप्लेजुङ स्थित पाथीभरा देवीको दर्शन गरेर दिउँसो विराटनगर फर्किएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मोरङ कांग्रेसले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा अधिकांशको सहभागीको प्रश्न गरे ‘पार्टीको महाधिवेशन कहिले हुन्छ ?
काठमाडौमा कांग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरेर विराटनगर आइपुगेका पार्टीका वरिष्ठ नेता पौडेललाई खराखरा प्रश्न गर्दै पार्टीको भाविकार्यदिशा, नीति नियम र गुटबन्दीबारे कार्यकर्ताहरुले जिज्ञासा राखे । छलफलमा सहभागी प्रदेश १ प्रदेशसभाका कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कांग्रेस नीतिनियम भन्दा पनि मनखुसी ढंगले संचालन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउँदै प्रश्न गरे, ‘पार्टीका गुटउपगुटको राजनीति धेरै भयो । केन्द्रीय कमिटीको बैठक नै बहिष्कार गर्ने अवस्था आउनु राम्रो संस्कार भएन ।’ कार्कीले कांग्रेस आफ्नो नीति, सिद्धान्त र पार्टी विधान अनुसार चल्नुपर्ने माग गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पार्टीमा उत्पन्न विवादलाई समाधान गरिनुपर्ने सुझाव दिए ।
प्रदेश सांसद शेखरचन्द्र थापाले पौडेल प्रति इंकित गर्दै भने, ‘तपाईं नै केन्द्रीय समितिको बैठक बहिष्कार गरेर यता आउनु भयो । यही संस्कार बस्दै जिल्ला, क्षेत्र, गाउँ र वडामा पनि पार्टी बैठक बहिष्कार गर्ने थिति बस्यो भने पार्टी कहाँ पुग्छ ?’ उनले आफ्नो कुरा लागू हुने अवस्था नआए बैठक बहिष्कार गर्ने भन्दा पनि बरु ‘नोट अफ डिसेन्ट’ लेखेर असन्तुष्टि जनाउने र त्यसबारे कार्यकर्ता तथा जनतलाई जानकार दिनेगर्नु उचित हुने सुझाव दिए ।
प्रदेशसभामा कांग्रेस सचेतक सूयर्माराज राईले कांग्रेसले विचारलाई मूलधारमा ल्याएर राजनीतिक संस्कार अघि बढाउनु पर्ने सुझाव दिए । भने, ‘कांगे्रस भित्र विचार र सिद्धान्तको राजनीतिक संस्कारको पर्खाइमा हज्जारौं युवाहरु छन् । अब विचारलाई प्रवाह गरेर पार्टी अघि बढ्नु पर्छ ।’
पार्टीका पूर्वजिल्ला सचिव मदन संग्रौलाले कांग्रेस नीति र कार्यक्रमलाई लिएर जनतासमक्ष जानुपर्ने सुझाव दिए । ‘हिजो जे जस्तो गल्ती भयोभयो त्यसलाई दोहोरिन दिनु हुँदैन’ उनले भने, ‘कांग्रेसको आदर्श मूलय र मान्यता अनुसार पार्टी चल्नुपर्छ ।’ कांग्रेसका क्रियाशील सदस्य रामप्रसाद महतोले हाम्रो भन्दा पनि पार्टीको नेतृत्वमा राम्रो मानिस आउनु पर्ने भन्दै चुनावमा पनि टिकट वितरण गर्दा यही सिद्धान्त अवलम्बन गर्नुपर्ने बताए । उनले ‘चिल्लो चाप्लो कुरा गर्नेलाई’ मात्र अवसर दिन नहुने सुझाए ।
कांग्रेसका पूर्व जिल्ला सदस्य सुधीर अर्यालले स्थानीय सरकार जितेका ठाउँमा समेत पार्टीको विषयमा आलोचना हुने गरेको बताए । विराटनगर ५ का कांग्रेस कार्यकर्ता सुदर्शन भट्टराईले जनप्रतिनिधि र पार्टीबीच काम गराईको तारतम्य मिल्न नसक्दासमेत जनतामा कांग्रेसबारे नराम्रो सन्देश जान थालेको भन्दै चिन्ता व्यक्त गरे । भने,‘‘जनप्रतिनिधि आफ्नो ढंगले काम गरिरहेका छन् । पार्टी आफ्नै हिसाबले चलिरहेको छ ।’’
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले बैठक बहिष्कार नगरेको बरु यता आउने कार्यक्रम अपरझट तय भएको कार्यकर्तालाई सुनाए । ‘‘यता आएर पाथीभरा गएँ अब आजै काठमाडौ जाने हो,’’पौडेलले भने,‘‘आवधिक चुनावमा जनताले निर्वाचनमार्फत प्रतिनिधि चुन्ने प्रक्रिया जस्तै पार्टीमा पनि आवधिक महाधिवेशन हुने हो । तर, अधिवेशन भएको दुई महिनामा बन्नुपर्ने विभागहरु कार्यकाल दुई महिना बाँकी रहँदा गठन हुन लागेको छ । यो मान्न सकिदैन् ।’’ पौडेलले आफुहरुले पार्टीका सभापति शेरबहादुर देउवालाई कार्यतालिका बनाएर महाधिवेशनको तयारी गर्न सुझाव दिएपनि सुनुवाई नभएको बताए । भने,‘‘काबु बाहिरको परिस्थिति भए पो कार्यकाल थप्ने हो तर त्यस्तो त केही छैन । कात्तिक मसान्तमा कार्यतालिका बनाउने सहमति गरियो तर मंसिर मसान्तमा पनि बनेनन् ।’’ उनले महाधिवेशन कहिले गर्ने भन्ने हिसाबको टुंगो गरेर अघि बढन् सुझाव दिएपनि सभापतिले त्यसबारे भने जसरी काम नगरेको दाबी गरे ।