धरानः यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरूले सोमबार अपराह्न १२ देखि २ बजेसम्म आप्mना काम रोकेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा गत मङ्सिर १५ गते गोरखापत्रमा प्रकाशित विज्ञापनमा कार्यालय सहयोगी र चालक पदमा विज्ञापन नगरिएकाले त्यसैको विरोधमा आन्दोलन गरिएको त्रिवि कर्मचारी सङ्घको क्याम्पस इकाइ समितिका सभापति डोलबहादुर बानियाँले जानकारी दिए । सङ्घको केन्द्रीय समितिले आह्वान गरेको चरणबद्ध आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै इकाइ समितिको नेतृत्वमा कर्मचारीहरू आन्दोलनमा ओर्लिएका हुन् । केन्द्रीय समितिको आह्वानमा त्रिविअन्तर्गत देशभरिका कर्मचारीहरू आन्दोलनमा छन् । आन्दोलनका चरणबद्ध कार्यक्रमअनुसार पुस १ गते १२ बजेदेखि १ घण्टा र २ गते १२ बजेदेखि २ घण्टासम्म कालो पट्टी बाँधेर काम बन्द गरिने सभापति बानियाँले बताए । पुस २ गते नै केन्द्रीय समितिको बैठक बसी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने कार्यक्रम रहेको उनले बताए ।