उर्लाबारीःप्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले विकास र समृद्धिमा सरकार संवेदनशील रहेको बताएका छन् ।
सोमबार उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास गर्दै मन्त्री आङ्बोले सरकारले तीब्र गतिमा विकास र समृद्धिको काम अघि बढाइरहेको बताएका हुन् । प्रदेश सरकारले पहिलो बर्षलाई आधार बर्ष रुपमा लिएको बताउँदै यस बर्ष शिलान्यास बर्ष हुने र अर्को बर्षदेखि जनताले देख्ने गरी विकास निर्माणको काम उद्घाटन गर्ने उनको भनाई छ । संघीयता र संविधानलाई कार्यान्वयन गर्दै विकास निर्माणका कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको उनले उल्लेख गरे । उनले प्रदेश सरकारले उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रेमा प्रदेश सरकारले रकम निकासमा ढिलाई नगर्ने प्रतिबद्धता जाहेर गर्दै समयमै काम सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिए ।
उनले बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए । प्रदेश सरकारले कृषि, पर्यटन, विकास निर्माण लगायतका कार्यमा तीब्र गतिमा काम अघि बढाइरहेको उनले जानकारी दिए । उर्लाबारी–मधुमल्ला हुँदै रबी जोड्ने सडक कालोपत्रे तथा स्तररोन्तीका लागि प्रदेश सरकारले गुरु योजना बनाइसकेको उनले बताए ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बुले सडक कालोपत्रे पश्चात मिक्लाजुङको मुहार फेरिने आशा ब्यक्त गरे । बर्षौदेखि सास्ती खेप्दै आएका टाँडी र रमितेका जनतालाई सडक कालोपत्रे बरदान सावित बन्ने बताउँदै सांसद लिम्बुले कालोपत्रे निर्माणको क्रममा कसैबाट अवरोध सिर्जना नगर्न अपिल गरे ।
ठेकेदार कम्पनी शर्मा–भिमेश्वर जेभी भक्तपुरका प्रतिनिधि सहदेब खड्काले कुनै बाधा अवरोध सिर्जना नभए सम्झौता गरिएको समय अगाबै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जाहेर गरे ।
ठेकेदार कम्पनीले ५८ करोड ५६ लाख ६८ हजार १ सय ७७ रुपैयाँमा ठेक्का लिएको छ । २०७८ असोज २६ गतेभित्र साढे १८ किलोमिटर सडक रमितेको आइतबारे सम्म कालोपत्रे सम्पन्न गर्ने सम्झौता गरेको छ । उक्त सडक कालोपत्रे भएपछि मोरङको विकट क्षेत्र मानिँदै आएको रमितेमा उत्पादित बस्तु सहज रुपमा उर्लाबारी लगायत बजारमा पु¥याउन सकिने छ ।