ताप्लेजुङःपुर्वमा नीजि हवाई सेवा कम्पनीहरुले प्याकेज नै बनाएर हवाई सेवा सुरु गरे पछि यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रहरु हवाई सेवा मार्फत जोडिएकाछन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरि झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्ला लगायतका ठाउँमा हवाई सेवा सुरु गरे पछि यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवा मार्फत जोडिएका हुन् । सीता एयरले आईतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान सुरु गरेको छ ।
यस्तै लामीडाँडा, लुक्लामा समेत उडान भईरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रवन्धक दिलबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाईएको छ । जस अनुसार भद्रपुर र विराटनगरबाट २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ । भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थल सम्म दैनिक उडान भर्ने छ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिर सम्म लगेर पुन सुकेटारमा ल्याउने छ । पाथीभराको दर्शन पछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्ला समेत जान पाउनेछन् ।
हवाई सेवा सुरु भए पछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेकाछन् । यस्तै हलेसी दर्शनको समेत २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताईएको छ । यस्तै माउण्टेन हेलिकप्टरले धरानको भेडेटारबाट समेत पाथीभरा उडान सुरु गरेको छ । भेडेटारबाट पाथीभरा सम्मको ओहोरदोहोर भाडा ३० हजार छ । हवाई सेवाले तिर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाई समेत सहज बनाएको छ । सीता एयरको विमान विहान भद्रपुरबाट सुकेटार र सुकेटार पछि लुक्ला हुँदै काठमाण्डौ जाने छ । पुन काठमाण्डौबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कने बताईएको छ ।
प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र रहेको पुर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याईएको बताईएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउन समेत सहयोग पुग्ने हवाई सेवा कम्पनीहरुको विस्वास छ ।
यता सुकेटार विमानस्थलबाट नियमित उडान सुरु भए पनि स्थानीयले तराईका भुभाग सहित काठमाण्डौ सम्मको यात्रामा सहज हुने विस्वास लिएकाछन् । यस्तै पर्यटकहरुको संख्यामा समेत वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका विरामीको उद्धारमा समेत सहयोग पुग्ने उनिहरुको भनाई छ । पुर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जेलिङ लगायतका पर्यटकलाई समेत सहज हुने देखिएको छ । तस्बीर ः सकेटार विमानस्थल । यस विमानस्थलमा नेपाल बायु सेवा निगमले समेत काठमाण्डौ–ताप्लेजुङ समेत उडान गर्दै आएको छ ।