इलामः समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संसोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने बताएका छन् । उनले संविधान संसोधन गर्न आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै संविधान संसोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने बताएका हुन् । उनले चाँडै सरकार र नेकपासँग अन्तिमपटक वार्ता गर्ने र संविधान संसोधन गर्न तयार नभए तत्काल सरकारबाट फिर्ता हुने जनाए ।
समाजवादी पार्टी इलाम नगर समायोजन घोषण सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी अगाडी बढेको बताउँदै पहिचान सहितको संघीयता, सुशासन र सदाचार सहितको शासन व्यवस्था, गरिवी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए । अहिलेको संविधानले सबैलाई समेट्न सकेको छैन त्यसैले संसोधन गरेर सबैलाई स्विकार्य बनाउन सरकारमा गएका थियौ अब पनि संविधान संसोधन भएन भने सरकार बाटबाहिरिने बताए ।
उनले नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको बताए । राजनीतिक क्रान्ति अझै अधुरो रहेको बताउँदै राईले राजनीतकि क्रान्तिको कार्यभार समाजवादी पार्टीले पूरा गर्ने दावी गरे ।‘आदिवासी, बिपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवम् उत्पीडितहरुले अझै परिवर्तनको महसुस गरेका छैनन्’ वरिष्ठ नेता राईले भने, ‘जबसम्म उत्पीडितहरुले परिवर्तनको महसुस गर्दैनन्, तबसम्म क्रान्ति अधुरै रहन्छ । अब आम उत्पीडितहरुसम्म परिवर्तनको महसुस पुरर्याउने काम समाजवादी पार्टीले गर्नेछ ।’
वरिष्ठ नेता राईले नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको बताए । अन्य दलहरुले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला वरिष्ठ नेता राईले राजनीतिक क्रान्ति नै बाँकी रहेको बताए ।