फिक्कलः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने प्रदेश अधिवेशनमा प्रदेशको नाम टुङ्गो लाग्ने बताएका छन् । बिहिबार सूर्योदय नगरपालिकामा स्थानीय संचारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री राईले नामाकरण टुङ्गो लगाउने बिषय जटिल भए पनि अवको केहि समय भित्रमै निकास आउने बताएका हुन् । उनले आगामी प्रदेश अधिवेशनमा पेश भएका नामहरु मध्येबाट उपयुक्त नाममा सहमती जुटाउने गृहकार्य भइरहेको जानकारी दिए ।
उनले भने ‘ धेरै नामहरु आई रहेका छन, त्यस मध्ये सबैलाई मान्य हुने नाम नै प्रदेश एकको नाम रहने छ । ’ मुख्यमन्त्री राईले पाँचबर्षको सरकारको अवधिमा एक बर्ष मात्र बितेकाले बाहिर ढिला भयो भन्ने हल्ला भए जस्तो नामाकरणको बिषयमा आत्तिनु पर्ने कारण नरहेको स्पष्ट पारे। किरात प्रदेश नाम राख्न तपाईको पनि सहमती छ रे भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री राईले आफुले आएका नाम मध्ये सहमती जुटाउने भूमीका मात्र खेल्ने भएकाले प्रदेश सभाले नै नाम टुङ्गो लगाउने बताए ।
फरक प्रसङ्गमा मुख्यमन्त्री राईले नेपाली बस्तु बंगलादेश निर्यात गर्न प्रदेश सरकारले एक बिज्ञ टोली बनाएर गृहकार्य थाल्ने जानकारी दिए । ‘ प्रदेश एकमा उत्पादन भएका कृषिजन्य र निर्माण सामग्री बंगलादेश निर्यात गर्न प्रदेश सरकार आतुर छ , चाडै नै यसले ठोस नतिजा पाउछ । ’मुख्यमन्त्री राईले भने। उनले दुई बर्ष भित्रमा संचालन गर्ने गरी सूर्योदय नगरपालिकामा चिया टेष्टीङ र अध्यन केन्द्र खोल्नका लागि सहमती भैसकेको जानकारी समेत दिए ।
प्रदेश एकमा उत्पादन भएका बस्तु बंगलादेश निर्यात गर्न सूर्योदय नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागी बन्न मुख्यमन्त्री राई इलाम आएका हुन् । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदुत बंशीधर मिश्रले नेपाली बस्तु बंगलादेश निर्यात गर्नु अघि बजारको खोजी र निर्यात गर्ने बस्तुको टुंगो लगाउनु पर्ने बताएका थिए ।
कार्यक्रमममा प्रदेश एक भरीका उद्योगी ब्यवसायी , स्थानीय सरकारका प्रमुख , संघीय सरकारका प्रतिनिधि लगायतको सहभागीता रहेको छ। उक्त कार्यक्रमले इलामको चिया बंगलादेश निर्यातका लागि सहज वातारण बनेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यक्रममा इलामका प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा रमण, खिनु लङ्वा लिम्बु, जिसस प्रमुख गणेश बराल लगायतको उपस्थिती रहेको थियो ।