धरानःसमय अगावै जन्मिएकी छोरी आँखा नदेख्ने भए पछि उपचारका लागि आर्थिक अभाव हुँदा खैरेनीका एक दलित परिवार समस्यामा परेका छन् ।
सात महिनाको गर्भावस्थामै जन्मिएका जुम्ल्हाया छोरीहरु मध्ये १ जनाको उपचारकै क्रममा मृत्यु भयो, अर्को छोरी बाँचेकि छिन् तर आँखा पुर्णरुपमा विकसित हुन नसक्दा दुवै आँखा नदेख्ने भए पछि उपचारमा भएको जेथा खर्च भईसकेकाले थप उपचारका लागि भौतारिरहेका छन् ।
धरान उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित खैरेनीका ३४ वर्षीय दीपेश नेपाली सार्कि र २० वर्षीया सपनाको परिवार अहिले छोरीको उपचारका लागि आवश्यक पर्ने आर्थिक खर्चका लागि भौतारिरहेका छन् । जन्मिएको ५ दिनमा मृत्यु भएकी एउटा छोरीको उपचारमा करिब साढे ६ लाख रुपैया जति खर्च भैसकेको छ भने बाँचेकी छोरीको उपचारमा साढे ३ लाख रुपैया खर्च भैसकेको छ । छोरीको थप उपचारका लागि भारतको चेन्नई लानु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । तर आर्थिक अभावले उपचारका लागि भारत लान सकेका छैनन् ।
बच्चाको आँखा पाँचौं स्टेजमा रहेको छ । जति सक्दो चाँडो चेन्नई पुर्याउन सके आँखाको ज्योति फर्कन सक्ने चिकित्सकले सल्लाह दिएका छन् । अस्पतालबाट पनि खर्चकै अभावले जबरजस्ती डिस्चार्ज गराउन बाध्य भएका थिए । आर्थिक अवश्था जुट्न नसके उपचारनै गराउन नसक्ने अवश्था रहेको बालिकाका हजुरबुबा टिकाराम सार्की बताउँछन् ।
एक वर्षअघि पुसमा विवाह गरेका दीपेश र सपनाको सात महिनामै गत साउनमा जुम्ल्याहा छोरी जन्मेका थिए । एउटा छोरीको ५ दिनमा मृत्यु भयो भने अर्कीलाई ५८ दिन एनआइसियुमा राखेर बचाएका थिए । बालिकाका बुबा दिपेश नेपाली सार्कीका अनुसार छोरीको उपचारका क्रममा तिन पटक सम्म हाई अक्सिजन दिनु परेको थियो । अविकसित अंगका कारण पटक पटक श्वास रोकिने समस्या भए पछि उनलाई हाई अक्सिजन दिनुपरेको थियो । चिकित्सकले हाई अक्सिजन दिदाँ मुटु, फोक्सो वा आँखामा असर गर्ने जानकारी गराए थिए । दिपेशकै अनुमतीले बच्चालाई बचाउन हाई अक्सिजन दिएको थियो । त्यही भएर आँखालाई असर पुर्याएको दिपेश बताउँछन् ।
दिपेश काठमाण्डौमै मजदुरी गर्ने भएकाले सपनाले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज जोरपाटीको अस्पतालमा सुत्केरी गराएकी थिईन् । बच्चाको जन्म भए पछि उपचारका क्रममा आँखाको ज्योति नआएको चिकित्सकहरुले जानकारी दिए पछि तिलगंगा अस्पतालमा उपचार गराएका थिए । तिलगंगा अस्पतालले समय अगावै बच्चा जन्मिएकाले पुर्ण रुपमा आँखा विकसित हुन नसक्दा दुवै आँखाको ज्योति गुमेको बताए पछि तिलगंगाले नै चेन्नई स्थित शंकरा नेत्रालयका डा. प्रमोद भाँडे र डा. प्रविन पलको टिमलाई रिफर गरिदिएको छ । दिपेशका अनुसार भारतमा उपचार गराउनका लागि करिब ५ लाख रुपैया भन्दा बढी खर्च लाग्ने भएको छ । आर्थिक अभावका कारण कसरी उपचार गराउन लाने उनी दोधारमा छन् ।
दिपेश काठमाण्डौंमा काठका मुडा, अचानो, लगायतका मौसमी व्यापार गर्छन् भने हजुरबुबा टिकाराम डोको, नाम्लो बनाउने गर्छन् । बच्चाको उपचारका लागि यस अघि नै पानवारीमा रहेको १ कट्ठा जग्गा बेचिसकेका छन् । खैरेनीमा भाडाको घरमा बस्दै आएका दलित परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।
दीपेशले सहयोगका लागि सबैलाई आग्रह गरेका छन् । एनआइसी एशियाको दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. य८८७०११३२३१५२४०१ मा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।