मोरङः मोरङको कानेपोखरी–६ दुर्गा टोलका रामकुमार राई बिगत ४० बर्षदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । पूर्व माओवादीको तर्फबाट जनसरकार प्रमुखसमेत बनेका उनी अहिले अस्पतालको सैयामा जीवन–मरणको दोसाँधमा छन् ।
मुटु र मृगौलामा समस्या देखिएर बिगत दुई महिना अघिदेखि थला परेका उनी आफुलाई समस्या पर्दा राजनीतिक सहपाटीको साथ पाउँने आसमा थिए । उनी गंभीर स्वास्थ्य समस्याले ग्रसित भएर उपचार गर्न पैसा अभावमा तड्पिरहदा उनकै पार्टी सरकारमा छ । त्यत्तिमात्र नभई उनकै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा बिजयी बनेका नेकपा नेता भानुभक्त ढकाल स्वास्थ्य मन्त्री छन् । मोरङको क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई पराजित गर्दै बिजयी बनेका ढकाल अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । मन्त्री ढकाललाई बिजयी गराउँन सक्रिय भूमिका निर्वाह गरेका राई पार्टीको नीति अनरुप कांग्रेस उम्मेदवार डा.शर्मालाई पराजित गराउँन लागिपरे । तर, पैसा अभावमा उपचार गर्न नसकिरहदा राईलाई उनै शर्माले नोबेल अस्पताल पुर्याई सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचार गराईरहेका छन् । ‘मलाई संकट परेका बेला सुनिल सरले राजनीति भन्दा माथि उठेर ठुलो सहयोग गर्नुभयो । तर, मेरै पार्टीका मान्छेले वास्ता गरेनन् ।’ अस्पतालको शैंयाबाट उनले भने ‘पार्टीका केन्द्रिय नेताहरुसँग पनि उपचारका लागि कुरा गरेको थिए । तर, केहि सहयोग मिलेन । बरु अर्कै पार्टीको भएर पनि सुनिल सरले साथ दिनुभयो ।’
चुनावका बेला डा.शर्मालाई हराउँँन सक्रिय भूमिका खेलेको स्मरण गर्दै उनले भने ‘जसलाई पराजित गराउँन लागि परियो, उहाँबाटै अहिले नयाँ जीवन मिल्दैछ ।’ जीवनको उर्वर समय वर्गसंघर्षको राजनीतिमा खर्चेका ५३ बर्षीय राई अहिले आर्थिक रुपमा बिपन्न छन् । टाटीको बेरा लगाएको घरमा गुजारा चलाउँछन् । जाडो याममा टाटीबाट छिरेको चिसो सिरेटो सिधै उनको ओछ्यानमा पुग्छ । पाखुरामा बल, शरिरमा जाँगर र स्वास्थ्यले साथ दिँदा राईले घर बनाउँने मिस्त्री काम गरेर ८ जनाको परिवार पाल्दै आएका थिए । तर, अहिले उनी रोगले थलिएपछि परिवारको आम्दानीको बाटो टुटेको छ । अव कसरी परिवार चलाउँने अन्यौल छ । जिन्दगीभर पार्टीको पछि लागेर सहयोग गरेको मान्छे पैसा अभावमा उपचार गर्न नसकेर थला पर्दा आफ्नो पार्टीका मान्छे हेर्न र सोध्नसमेत नपुगेको उनको परिवारका सदस्यको गुनासो छ । ‘आफ्नो पार्टीका कसैले सोध्न पनि आएका छैनन् ।’ गुनासो गर्दै राईकी छोरी अमृताले भनिन् ‘अर्कै पार्टीको मान्छे भएपनि सुनिल सरले ठुलो गुन लगाउँनुभयो ।’
उपचार गर्ने पैसा अभावमा राम्रो अस्पताल जान नसक्दा राई दुई महिनादेखि घरमै ओछ्यान परेका थिए । उनको अवस्था थाहा पाएपछि नोबेल अस्पताल सञ्चालकसमेत रहेका नेता शर्माले घरमै एम्बुलेन्स पठाएर राईलाई अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । जुनसुकै पार्टीको मान्छे भएपनि अफ्ठेरोमा परेका बेला साथ दिनु मानवीय कर्तव्य भएकाले सहयोग गरेको डा.शर्माको भनाई छ । राईलाई डा.शर्माले आईसीयूमा राखेर निःशुल्क औषधि उपचार गराईरहेका छन् ।
उनको दुवै मृगौलाले काम नगरेको र मुटुमा पनि समस्या देखिएको उपचारमा संलग्न नोबेलका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा.शैलेन्द्र श्रेष्ठले बताए । मृगौलाले काम नगर्दा राईलाई डाईलाईसिस गराईदैछ । डा.शर्माले यसअघि पनि गरिब, बिपन्न तथा असहाय सयौं बिरामीलाई निःशुल्क उपचार गरेर मानवीय सेवालाई निरन्तरता दिदै आएका छन् ।