राजारानीः धनकुटाको राजारानी पर्यटकीय क्षेत्र हो । यो ठाउँ चौबिसे गाउँपालिका वडा नम्बर ६ मा उपत्यका स्वरुपमा रहेको छ । ताल, झरना र प्राकृतिक मनोरम दृश्यको लागि यो क्षेत्र प्रख्यात छ ।
राजारानी घुम्न आन्तरिकदेखि बाह्य पर्यटकसमेत पुग्ने गर्छन । रानी पोखरीमा जलबिहारको छुट्टै मजाले धेरै पर्यटकलाई तान्ने गर्छ । गाउँपालिकाले यो क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न योजनागत विकास अघि सारेको छ । राजा पोखरी भने निर्माणको क्रममा नै रहेको छ ।
पोखरीको संरक्षणका लागि बाँध बाँध्ने काम पूरा भइसकेको छ । पोखरीको चारैतिर भ्यूटावर निर्माण गरिएका छन । पोखरीको अग्रभागमा ‘सेल्फी पोइन्ट’ निर्माण गरिएको छ । अहिले पोखरी क्षेत्रमा हरेक दिन तराईबाट वनभोजका लागि टोली पुग्ने गर्छन । वनभोज खान र प्रकृतिक मनोरम दृश्यको मजा लिनेका लागि राजारानी गतिलो गन्तब्य हो ।
पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै गाउँपालिकाले थप पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत काम सुरु गरेको छ । नागबेली ढुंगे दरबार क्षेत्रको संरक्षणसंगै राजारानीमा अवस्थित झरनासम्म पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । झरनामा रानी पोखरीबाट गएको पानी नै छहराबाट झर्ने गर्छ ।
पर्यटन कार्यालय काकडभिट्टाले यो क्षेत्रको संरक्षणको लागि ट्रयाक निर्माण गरेको छ । झरनासम्म पुग्न सहज बनाइएको छ । राजारानी धरान हुँदै भेडेटार पुगेपछि पूर्व लाग्नु पर्छ । भेडेटारबाट पर्यटकीय क्षेत्र नाम्जे हुँदै कन्यापोखरी र डाँडाबाजारबाट राजारानी पुग्न सकिन्छ । भेडेटारबाट करिब एक घन्टाको सवारी यात्राबाट राजारानी पुग्न सकिन्छ । यस्तो छ राजारानीको मनोरम दृश्य ।