इटहरी/  दुहबी– ३ मा रहेको प्रिमियर अर्गानिक उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले सो उद्योग बन्द गराएका छन् । सोमबार १ सय जनाभन्दा बढीको संख्यामा गएका स्थानीयले सो उद्योग बन्द गराएका हुन् । सो उद्योगले प्रदूषण फैलाएको र स्थानीयको स्वास्थ्यमा असर पु¥याएको भन्दै आइतबार स्थानीयले नगरपालिकामा निवेदन दिएका थिए ।

स्थानीयको निवेदनपछि नगरपालिकाले सो उद्योगलाई पत्राचार गर्दै लिखित जवाफ मागेको थियो । तर प्रदूषणको पीडा भोगिरहेका स्थानीयले भने भोलिपल्टै गएर उद्योग बन्द गराएका छन् । स्थानीयको दबाब थेग्न नसकेर उद्योग बन्द भएको हो । वडा नम्बर ३ र ८ को सिमानामा रहेको सो उद्योगको प्रदूषणका कारण दुहबी ८ मा रहेको बिपी आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीको स्वास्थ्यमा असर पुगेको भन्दै सो विद्यालयले पनि निवेदन दिएको थियो । पटकपटकको चेतावनीपछि बन्द सो उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले पटकपटक आवाज उठाउँदै आएका थिए । तर, स्थानीयको आवाजलाई बेवास्ता गर्दै उद्योग सञ्चालनमा आएको थियो । सो उद्योगले फैलाएको प्रदूषण (गन्ध) का कारण उद्योग वरपरका बासिन्दा नाकमुख थुनेर बस्नुपर्ने बाध्यता आएपछि उद्योग बन्द गर्नुपरेको स्थानीयको भनाइ छ । भुस जलेपछि उद्योगबाट निस्कने फोहोर पदार्थ (छाइ) का कारण मानव स्वास्थ्यमा असर पर्ने गरेकाले उद्योग बन्द गराउन बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । बियर फ्याक्ट्री भनिए पनि त्यहाँ के उत्पादन हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको स्थानीय बताउँछन् ।

34529042_10211618883684138_4889996222716182528_n

सो उद्योगले साइनबोर्ड पनि नराखेको स्थानीयले बताए । स्थानीयले उद्योग बन्द गराएपछि सो उद्योगले वडा कार्यालयमा निवेदन दिँदै ५ दिनको समय मागेको वडाध्यक्ष माधव भण्डारीले बताए । ‘स्थानीयले सोमबार उद्योग बन्द गराएपछि उद्योग प्रशासनले वडा कार्यालयलाई पत्र लेखी केही दिनको समय मागेको छ’, भण्डारीले भने, ‘बिग्रिएका मेसिन मर्मत गरेपछि उद्योग सञ्चालन गर्ने र त्यसपछि समस्या नहुने उद्योगको भनाइ छ ।’ उद्योगका प्रतिनिधि मिडियासँग खुल्न चाहेनन् स्थानीयले बन्द गराएको सो उद्योगको विषयमा उद्योग प्रशासनसँग जानकारी लिन खोज्दा उद्योगका प्रतिनिधिले भने खुलेर कुरा गर्न चाहेनन् । स्थानीयवासीले प्रशासन प्रमुख भनेर भनेका श्रवण चौधरीसँग स्थानीयले उद्योग बन्द गराउनुको कारणबारे फोन सम्पर्क गरी जिज्ञासा राख्दा उनले खुलेर कुरा गर्न चाहेनन् । आफूसँग प्रशासकीय अधिकार नभएको र आफू सामान्य कर्मचारी मात्रै भएको बताउँदै उनले भने, ‘बोइलर मेसिन बिग्रिएर बढी धुलो र छाइ उद्योगबाट निस्किएको साँचो हो । गत शनिबारदेखि मेसिन बिग्रिएर यस्तो समस्या आएको हो ।’ यसलाई बनाउन ४÷५ दिन लाग्ने र त्यसपछि समस्या समाधान हुने बताएका उनले मेसिन बनिएपछि मात्रै उद्योग सञ्चालन हुने बताए । यो उद्योग कस्तो उद्योग हो अनि यसले कस्तो वस्तु उत्पादन गर्छ भन्ने जिज्ञासा राख्दा शुरुमा यसबारेमा बताउन नचाहेका चौधरीले पछि भने सो उद्योगले बियर बनाउन आवश्यक पर्ने स्पिरिट उत्पादन गर्ने बताए । उद्योग कहिलेदेखि सञ्चालन भएको हो भन्ने बारेमा जिज्ञासा राख्दा ४ वर्ष अघि स्थापना भए पनि १ वर्ष अघिदेखि सञ्चालनमा आएको बताउँदै बाँकी जिज्ञासाको जवाफ फोनबाट दिन नमिल्ने भन्दै उनले फोन काटिदिए ।

34385970_10211618871083823_7309450488527716352_n

अरु उद्योगविरुद्ध पनि निवेदन प्रदूषण फैलाएको भनी दुहबीका अन्य केही उद्योगविरुद्ध पनि स्थानीयले नगरपालिकामा निवेदन दिएका छन् । चिउरा भुजा मिल, एस टी कार्पेट र मैनावती स्टिलविरुद्ध स्थानीयले निवेदन दिएका हुन् । निवेदन आएका उद्योगलाई तुरुन्तै पत्र काटी लिखित जवाफ मागिने गरेको नगरपालिकाका वातावरण संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना हलुवाइले बताए । मैनावतीले लिखित जवाफ नगरपालिकामा बुझाइसकेको र अन्य उद्योगले भने नबुझाएको उनले बताए । निवेदन परेपछि नगरपालिकाले अनुगमन पनि गरेको हलुवाइले बताए । ‘हामीले अनुगमन पनि ग¥यौं । मैनावतीले पानी प्रदूषण गरेको पाइयो । पानी कति प्रदूषित भएको छ भनी उद्योगका प्रतिनिधि र नगरपालिकाका प्रतिनिधिको रोहबरमा जाँच गर्ने तयारी भएको छ ।’ कारवाहीको स्पष्ट कानुन छैन ः नगरपालिका वातावरण प्रदूषण गर्नुका साथै स्थानीयको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता उद्योगविरुद्ध कस्तो कारवाही गर्ने भन्ने स्पष्ट कानुन नगरपालिकासँग छैन । दुहबी नगरपालिकाका सहायक वातावरण अधिकृत विमलनारायण चौधरी भन्छन्, ‘निवेदकले दिएको निवेदनको फोटोकपीसहित पहिले ७ दिने सूचना जारी हुन्छ । ७ दिनभित्र सम्बन्धित उद्योगले लिखित जवाफ दिनुपर्ने हुन्छ । जवाफ चित्तबुझ्दो आएन र स्थानीयको उजुरी आउने क्रम रोकिएन भने हामी अनुगमन गर्छौं ।’ सबैभन्दा पहिले उद्योगीलाई सम्झाइबुझाइ गरिने र फोहोर व्यवस्थापन गर्न लगाउने काम हुने उनले बताए । प्रदूषण फैलाउने उद्योगलाई के कारवाही हुन्छ भन्ने बारेमा जिज्ञासा राख्दा त्यस्तो कानुन बनिनसकेको चौधरीले बताए । सार्वजनिक स्थल वा निजी घरमा कतै पनि अनुमतिबिना पोस्टर, पम्पलेट टाँसेमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने भनी वातावरण संरक्षण ऐनमा उल्लेख भए पनि प्रदूषण फैलाउने उद्योगलाई के कारवाही गर्ने भन्ने स्पष्ट कानुन नहुनु लज्जास्पद छ । यसै विषयमा चौधरीसँग जिज्ञासा राख्दा पहिले सम्झाइबुझाइ गर्ने, त्यसपछि फोहोर व्यवस्थापन गर्ने विषयमा जोड दिइने उनले बताए ।

34386180_10211618856323454_5045286314400808960_n

महामारी फैलने गरी ज्यादै ठूलो जोखिमको अवस्था आयो भने मात्रै नगर परिषदबाट निर्णय गरी उद्योग बन्द गराउने निर्णय हुन सक्ने उनले बताए । ‘कारवाही स्टेप बाइ स्टेप हुन्छ । जरिवाना र कारबाहीभन्दा पनि व्यवस्थापनमा जोड दिने काम बढी हुन्छ’ चौधरीले भने । दुहबीमा ८६ उद्योग सञ्चालनमा नगरपालिकाको रेकर्डअनुसार दुहबी नगरपालिकामा ८६ वटा उद्योग सञ्चालनमा छन् । यीबाहेक अन्य ५० वटा उद्योग दर्ता भए पनि सञ्चालनमा नरहेको पाइएको चौधरीले बताए । सञ्चालनमा रहेका उद्योगमध्ये धेरैले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी उद्योग सञ्चालन गर्ने गरेको स्थानीय बताउँछन् । उद्योगबाट निस्किने रसायन खोलामा मिसाउँदा सो पानी पिउने चौपाया मर्ने गरे पनि यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ ।