इलामःसामान्यतया एक ठाउँको खबर वा सन्देश अर्को ठाउँमा विभिन्न माध्यमबाट पु¥याउने कार्य नै सञ्चार हो । सञ्चार माध्यमको विकास र नयाँ प्रविधिको बढ्दो प्रयोगले हुलाक सेवाको प्रभावकारिता घट्दै गएको छ ।
केहीवर्ष अघिसम्म इलाममा हुलाकको निकै महत्व रहेको थियो । तर अहिले इतिहास जस्तै बनेको छ । सात आठ वर्ष अघिसम्म दैनिक सयौं भन्दाबढी चिठीपत्र आउने गर्दथे तर, अहिले दैनिक ५०÷६० वटा मात्र आइपुग्छन् ।
कहिले दिनमा एउटा पनि आउँदैनन् । धेरै चिठी सरकारी कार्यालयका मात्र आउने गरेको टिकट काउन्टरका कर्मचारी वुद्धि भण्डारी बताउँछन् । उनी भन्छन् सरकारी कार्यालयका कर्मचारीले सम्पत्ति विवरण पठाउन, सञ्चय कोषको विवरणका लागि र नयाँ कार्यालयमा सरुवा हुँदा साथै नियुक्त कर्मचारीले चिठी रजिष्टर गर्नुपर्ने हुन्छ । त्यसैले धरैजसो सरकारी कार्यालयका चिठी आउने गरेका छन् ।
हरेक क्षेत्रमा डिजिटल प्रविधि आएसँगै पछिल्लो समय हुलाकले पनि डिजिटल प्रविधि अघि बढाएको छ । जिल्लामा इलाका ११, र अतिरिक्त ४० गरी ५० भन्दा बढी इलाका हुलाक कार्यालय छन् । तर जिल्ला हुलाक कार्यालय डिजिटल प्रविधिमा गएपछि भने आफ्नो सेवाक्षेत्र फराकिलो बनाउन खोजिरहेको छ ।
भण्डारीका अनुसार ‘ट्रयाकिङ सिस्टम’का कारण अहिले हुलाकले दिने सेवा पहिले भन्दा धेरै सहज छ । यसबाट चिठी कहाँ पुग्यो भन्ने थाहा पाउन सकिन्छ । यस्तो सिस्टमबाट काम गर्न छिटोसमेत हुन्छ ।
‘पहिले चिठी लिएर आउँदा रसिद काट्नु पर्दथ्यो तर अहिले अनलाइन बाटनै हुने गर्दछ । रसिद काट्दा समय धेरै लाग्दथ्यो भने अहिले छिटो भन्दा छिटा अनलाइनबाट काम गर्न सकिन्छ । कहिले काहीँ इन्टरनेको कारणले सिस्टम चल्दैन त्यो समयमा रसिद बाटनै हुन्छ इन्टरनेट आएपछि अनलाइनमा दर्ता हुन्छ’ भण्डारीले भने । हुलाक चिठी पत्र एक ठाउँदेखि अर्को ठाउँसम्म पु¥याउने विश्वासिलो माध्यम रहेको कार्यालय प्रमुख जुवलदास राई बताउँछन् ।
नयाँ प्रविधिले फड्को मारेपनि हुलाक जति जिम्मेवारी र विश्वासिलो अरु नभएको उनको भनाइ छ ।
चार करोडभन्दा बढीको बचत
हुलाकमा बचत भन्दा अचम्म लाग्न सक्छ । अधिकांशले हुलाक भन्ने बित्तिकै चिठी बोक्ने मात्र बुझ्दछन । तर हुलाक कार्यालय इलामले बचत बैङ्क पनि सञ्चालन गरिरहेको छ । नागरिकको लगानी रहेको हुलाक बचत बैङ्कमा चार करोड ५८ लाख रूपैयाँ बचत रहेको कार्यालय प्रमुख जुवलदास राई बताउँछन् ।
एक व्यक्तिले १० लाखसम्म बचत गर्न सकिने यस बचत खातामा सात सय ७१ जना बचतकर्ता रहेको तथ्याङ्क छ । बचत बैकबाट अन्य सरकारी बैकले दिने सुविधा बराबरको सबै सुविधा दिए पनि बचत बैंकले ऋण दिन भने कार्यालयका कर्मचारीलाई मात्र दिने गरेको राईको भनाइ छ ।
आजको यो सूचना तथा प्रविधिको युगमा सञ्चारका अन्य माध्यमहरुको आकस्मिक रुपमा परिवर्तन भएता पनि हुलाक सेवा नै एक मात्र यस्तो भरपर्दो सेवा हो जोसँग आवश्यक प्रमाण एवं विश्वास छ । त्यसैले हुलाक सेवाको महत्वलाई आत्मसाथ गरी समय सापेक्ष यसलाई ग्राहक वर्गको चाहना र प्रवृत्ति अनुसार परिवर्तन गर्नु नितान्त आवश्यक छ ।