विराटनगरः प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० आज भव्य रुपमा उद्घाटन गर्दैछ । आज मध्यान्ह १२ बजे एक समारोहबीच प्रदेश राजधानी विराटनगरको सहिद रंगशालमा पर्यटन वर्ष २०२० को उद्घाटन हुँदैछ ।
प्रदेशमा मुख्यमन्त्री शेरधन राई संरक्षक रहेको मूल समिति बनेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतको अध्यक्षतामा रहेको समितिले पर्यटन वर्ष मनाउन वर्षभरिको कार्ययोजना तयार गरेको छ ।
सहिद रंगशालामा आज बाह्रवटा झाँकी प्रदर्शन हुनेछ । यसैगरी उद्घाटन समारोहमा हेलिकोप्टर, ड्रोन र हट एयर बेलुन पनि प्रयोग हुनेछ । मन्त्री कुसियैतले भने,‘‘उद्घाटनमा देशबाहिरका पाहुनालाई पनि आमन्त्रण गरिएको छ ।’’ हिजो सहिद रंगशालमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले उद्घाटन समारोहको रिहर्सल पनि गरेका छन् । सुरक्षाकर्मीको टुकडीले मार्चपासको अभ्यास पनि गरेका थिए ।
रंगशालामा प्रदेशभरिका जिल्लाका पर्यटकीय क्षेत्र झल्कने र त्यसबारे जानकारी दिने होर्डिङ बोर्डसमेत राखिएका छन् । फूल तथा तुलले रंगशाला सिंगारिएको छ । मन्त्री कुसियैतका अनुसार सबै तयारी पुरा भएको छ । रंगशालाबाट पर्यटन वर्षको तस्विर तथा लोगो उडाइने छ । सांस्कृति झाँकी, गीत तथा नृत्यका कार्यक्रम राखिएका छन् । भने,‘‘प्रदेश राजधानीबाट उद्घाटन भएर वर्षभरि प्रदेशका पर्यटकीय क्षेत्रमा भव्य कार्यक्रम हुनेछन् । पर्यटकलाई आकर्षित गर्न र पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा समेत काम हुनेछ ।’’
पर्यटन वर्ष उद्घाटनको सन्दर्भ पारेर मुख्यमन्त्री शेरधन राईले एउटा भिडियो सन्देश पनि जारी गरेका छन् । राईले पर्यटन वर्ष भव्य रुपमा उद्घाटन गरिने र यसमा सहभागी हुन सबै प्रदेशबासीलाई आह्वान पनि गरेका छन् । ‘‘पर्यटन वर्ष मनाउने सन्दर्भमा सरकारले सबै तयारी गरेको’’ सन्देशमा उल्लेख छ । प्रदेश १ ले पर्यटन विकास र पर्यटन क्षेत्रबाट आम्दानी गर्न विशेष प्राथमिकता दिएको छ । सरकारको बजेटमा समेत पर्यटकीय क्षेत्रको विकास तथा पूर्वाधारलाई ध्यान दिइएको छ ।
पर्यटन व्यवसायी भविष श्रेष्ठले प्रदेश १ मा पर्यटन वर्ष २०२० भरि भव्य हुने दाबी गरे । उनले उद्घाटनलाई मात्र नएर वर्षभरि हुने कार्यक्रमलाई पनि ध्यान दिनुपर्ने आफूहरुको जोड रहेको सुनाए । भने, ‘‘हामीले पर्यटन वर्षलाई पर्यटन पूर्वाधार विकासको अवसरको रुपमा पनि लिएका छौं ।’’ उनले सरकारले पर्यटन प्रवद्र्धनका निमित्त निरन्तर काम गर्नुपर्ने सुझाव दिए ।
प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले तयारी पूरा भएसंगै उद्घाटन भव्य बनाउने जनाएको छ । मन्त्री कुसियैतले भने, ‘उद्घाटनमा हेलिकोप्टरबाट पुष्प बृष्टिसँगै ड्रोन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराइने छ ।’ सेना र प्रहरीले झण्डा, भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन् । यसैगरी प्रदेशलाई चिनाउने वृत्तचित्र र गीत पनि प्रस्तुत हुने छन् । मध्यान्न पर्यटन वर्ष शुभारम्भ गर्न सहिद रंगशालालाई बेहुली झैं सिंगारिएको छ ।
उदघाटनपछिका दिनमा प्रदेशका विभिन्न स्थानमा जिल्लालाई चिनाउने महोत्सव, मेला र पर्यटक स्वागत सत्कार जस्ता कार्यक्रम जारी रहने पर्यटन मन्त्रालयका सचिव सञ्जीवकुमार राईले बताएका छन । भने, ‘प्रमुख पर्यटकीय गन्तब्यका रुपमा तोकिएका पर्यटकीय क्षेत्रमा विशेष ध्यान दिइने छ । प्रदेशमा पर्यटनको प्रचुर सम्भावनालाई मध्यनजर गरी पर्यटकलाई आकर्षण गर्न सकिने कार्यक्रम संचालन गरिने छ ।’भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य केन्द्र सरकारले लिएको छ ।