भेडेटारःप्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्यको रुपमा रिहेको भेडेटार भारतीय पर्यटकहरुले खचाखच भरिएको छ । अंग्रेजी नयाँ बर्ष २०२० को अघिल्लो दिन अर्थात हिजोबाट भेडेटारका होटलहरुमा भारतीय पर्यटकहरुको भीड लागेको हो । भेडेटार र आसपासका पर्यटकिय गन्तव्यहरुको प्रचार प्रसारका लागि ८ औं फुड फेष्टिबल समेत शुरु भएको छ । हिजो बिहानबाटै भारतीय पर्यटकहरु भेडेटार आउने क्रम बढेको होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनका अनुसार राती १२ बजेसम्म भारतीय पर्यटकहरु आएका छन् । राती १२ बजेसम्ममा भेडेटारका हरेक होटलहरुमा भारतीय पर्यटकहरुका सवारीहरुले भरीएका थिए ।
आज अर्थात अंग्रेजी नयाँ बर्ष २०२० भएकाले भेडेटार आउने पर्यटकको संख्या थप बढ्ने अध्यक्ष रुम्दालीले बताए । हिजो राती ९ बजेसम्म फेष्टिबलमा भारतीय पर्यटकहरु नाँच गाँन गरि रमाएको उनले बताए । होटल एशोशिएसनका महासचिव आशिष राईका अनुसार भेडेटारमा रहेका ६५ वटा सुविधासम्पन्न होटलहरु पर्यटकहरुबाट बुक हुने क्रम बढीरहेको छ । होटलमा आउने र बुक गर्नेहरुमा आन्तरिक पर्यटक भन्दा बढी भारतीय नै रहेको राईले बताए । परिवार सहित आफ्ना नीजि सवारीमा भारतीय पर्यटकहरु आउने क्रम जारी रहेको उनले बताए ।
९ बर्षअघिसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु खासै नदेखिने भेडेटारमा ८ औं फुटफेष्टिबलमा आईपुग्दा सबै होटलमा आन्तरिक भन्दा पनि बाह्य पर्यटकले खचाखच हुनु राम्रो संकेत भएको अध्यक्ष रुम्दाली राईले बताए ।
शुरुका बर्षमा भेडेटारमा ७ वटा जति होटल थिए । १२ महिना जस्तो पर्यटक नआउदा पर्यटन व्यवसायीहरु निरास भएर बस्नु पर्ने बाध्यता थियो । नीजि क्षेत्रबाट होटल एशोशिएसन भेडेटारको पहलले बर्षेनी पर्यटकहरु आगमनलाई बढाउदै लगियो । फलस्वरुप पर्यटन व्यवसायीहरुले होटलमा लगानी बढाउदै लगे र आज ६५ वटा होटल संचालनमा ल्याए । जहाँ यतिबेला विदेशी पर्यटकहरुले भरिएका छन् । यो नीजि क्षेत्रबाट भएको ठूलो उपलब्धी हो भन्ने आफुले लिएको एशोशिएसनका अध्यक्ष रुम्दालीले बताए ।
भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन र एक दिन भएपनि भेडेटारमा पर्यटकलाई बसाउनका लागि ९ बर्षअघि कसैले खोजी नगरेको नमस्ते झरनासम्म पुग्ने बाटो खोल्दा नेपाली सेना र भेडेटारमा रहेका केही सिमित पर्यटन व्यवसायीहरुले गरेको योगदान आफुले नर्बिसिएको उनको भनाई छ । २ लाख रुपियाँ नीजि क्षेत्रबाटै जुटाएर नमस्ते झरनासम्म पुग्ने बाटो खुलेपछि भेडेटार आउने पर्यटकहरुको संख्यामा क्रमश बृद्धि हुदै गएको उनले बताए ।
भेडेटार बजारबाट नाम्जे जाने सडकमा मुर्तिकार रोजन राईले शंखेश्वरको मुर्ति निर्माण गरेपछि भेडेटारमा अर्को आर्कषण बढेको होटल एशोशिएसन भेडेटारका निर्वतमान अध्यक्ष लिलाराज लावतीले बताए । भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले यो मुर्तिमा आएर सेल्फी नखिचि जाँदै नजाने उनले बताए । उनले नीजि क्षेत्रबाट भेडेटार र यहाँ प्राकृतिक सौन्र्दयतालाई देश विदेशमा पुर्याउन यहाँका पर्यटन व्यवसायी र संस्थागत रुपमा होटल एशोशिएसन भेडेटार जसरी लागि परेको छ , त्यसरी नै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लाग्ने हो भने अबको ५ बर्ष संसारभरीका पर्यटकहरुका लागि एउटा गतिलो गन्तव्यका रुपमा विकास हुनेमा शंकानै नरहेको लावतीको भनाई छ ।
स्थानीय, प्रदेश सरकारलाई गुर्हादा गुर्हादा आफुहरुको मागलाई खासै महत्व नदिएपछि नीजि क्षेत्रकै लगानीमा शंखेश्वर मुर्तिकै छेउमा ८ औं फुटफेष्टिबलबाट २ लाखको लगानीमा पर्यटन सूचना केन्द्रको समेत स्थापना गरेको होटल एशोशिएसन भेडेटारका सह कोषाध्यक्ष रमेश श्रेष्ठले बताए । भेडेटार र यसका आसपासका दुई दर्जन गन्तव्यहरुलाई कलात्मक बनाउन सके भेडेटारको स्वरुप नै बद्ल्ने मुर्तिकार रोजन राईको भनाई छ । उनले आफुसंग भेडेटारलाई विश्वसामु चिनाउने योजना रहेको बताए । तर, त्यसका लागि नीजि क्षेत्रलै मात्रै नभई सरकारी निकायले चासो राख्नु पर्ने उनले बताए ।