विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बरको एकको पर्यटन विकासका लागि प्रदेश सरकारले सिक्किमसंग गुराँस सर्किट, बंगालसंग रेडपान्डा सर्किट र तल तराईमा हात्ती सर्किट बनाएर पर्यटकीय गतिविधि संचालन गर्ने बताएका छन् । यसबाट दुबैतर्फका प्रदेश सरकारले फाइदा लिने सक्ने मुख्यमन्त्री राईले बताए । आज प्रदेश १ सरकारको आयोजना भव्य समारोहबीच प्रदेश राजधानी विराटनगरमा प्रदेशस्तरीय पर्यटन वर्ष २०२० उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले कलकत्ता र पाथीभरामा शक्ति सर्किट विकास गर्न सकिने बताए । धार्मिक तथा प्राकृतिक रुपमा नै पर्यटन प्रवद्र्धन गर्न सकिने तर यसको लागि नीतिगत तहमा प्रयास हुनुपर्ने उनको सुझाव थियो ।
राईले प्रदेश १ मा पर्यटन विकासको प्रचुर संभावना रहेको चर्चा गर्दै भने,‘‘अहिले कुल गार्हस्थ उत्पादनमा हाम्रो प्रदेशले एक दशमलब ९३ प्रतिशत योगदान दिइरहेको छ अब पाँच प्रतिशत पु¥याउने हाम्रो लक्ष्य छ ।’’ मुख्यमन्त्री राईले हाल ३२ हजार जनाले रोजगारी पाइरहेको यो क्षेत्रमा यसलाई बढाएर तेब्बर गर्ने प्रदेश सरकारको योजना रहेको सुनाए । राईले आवधिक योजनामा पर्यटनको व्यवस्थित विकास गर्न सरकारले काम थालिसकेको बताए ।
पर्यटन वर्ष अवधिमा प्रदेश १ मा मात्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउँदै राईले यहाँको प्राकृतिक तथा मनोरम क्षेत्रलाई पर्यटनसंग जोड्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । भने,‘‘हाम्रो प्रदेशमा सगरमाथा छ । सगरामाथा राष्ट्रिय निकुञ्ज छ । यस्तै धेरै प्राकृतिक क्षेत्र छ्न । यसबाट हामीले पर्यटनको विकास गर्ने प्रचुर संभावना छ ।’’
भारतको पश्चिमबंगलाबाट आएका पर्यटन व्यवसायी राज बसुले सिक्किम र पश्चिमबंगालसंग प्रदेश १ ले जोइन्ट सर्किट बनाएर पर्यटन प्रवद्धृन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा गायक सुमित खड्का र गायिका ‍प्रश्ना शाक्यले पर्यटन गीत गाएका थिए । सहिद रंगशालमा उद्घाटन समारोहमा निक्कै बाक्लो उपस्थिति थियो । विद्यालय तथा कलेजका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि तथा जतीय झाँकी देखाउने टोलीले आफ्नो प्रस्तुति दिएका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले कलाबाजीसहितको सांगीतिक प्रस्तुति गर्दै मार्चपास्ट गरे । निक्कै उल्लासपूर्ण माहोलबीच भ्रमण वर्ष उद्घाटन भएको थियो । लोखनाच, सन्थाल नाच, झाँगड नाच प्रस्तुत गरिएको थियो । सेनाको होलिकोप्टरले आकाशबाट रंगशाला क्षेत्रमा पुष्पवृष्टि गरेको थियो । हटएयर बेलुनमा भ्रमण वर्षको लोगो उठाइएको थियो । यसैगरी स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रदेश सरकारले पर्यटन दूत घोषित गरेका पर्वतारोही कामिरिता शेर्पा, मिङमा शेर्पा, मिसेस युनिर्भस २०१७ पिंकी राजगढिया, कलाकार दीपाश्री निरौला, अग्ला व्यक्ति राजन अधिकारी पनि सहभागी थिए । पर्यटन वर्ष मूल समितिका अध्यक्ष उद्योग पर्यटन वन तथा वातरवरण मन्त्री जगदिश प्रसाद कुसियैतले पर्यटन वर्षलाई भव्य रुपमा सफल बनाउन सरकारले कुनै कमजोरी नगर्ने सुनाए । भने,‘‘पर्यटन वर्ष वर्षभरि मनाउने गरी हामीले तयारी गरेका छौ ।’’ विद्यार्थीहरुको प्रस्तुति पनि निक्कै रोचक थियो । धुलाबारीका विद्यार्थीले ब्यागपाइप बजाएर अतिथिको स्वागत गरेका थिए ।