इलामः इलाममा नयाँ बर्ष तथा नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन गरिएको छ । इलाम , पाँचथर र ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको जोरकलशमा भ्रमण बर्ष २०२० को उद्घाटन गरी हाँसपोखरी देखि सानो पाथीभरा सम्म पदयात्रा गरिएको हो ।
जिल्ला स्तरीय पर्यटन प्रवर्धन समिति, रोङ गाउँपालिका र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति इलामको संयुक्त आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद धिरेन्द्र शर्माले इलामको एक मात्र समृद्धिको आधार पर्यटन भएको बताए । सांसद शर्माले समग्र इलाम जिल्लालाई पर्यटन मैत्री बनाएर अगाडी बढनका लागि सबै एकजुट बन्नु पर्ने बताएका हुन । उनले भने ‘ भ्रमण बर्षको शुरुवात सगै हामी सबै पर्यटन मैत्री बन्नुपर्छ, जसमा हाम्रो समृद्धि गासिएको छ ।’ सांसद शर्माले पर्यकका लागि आवश्यक पूर्वधार निर्माण गर्न तीनै तहका सरकारले पहल गर्नु पर्ने बताए ।
कार्यक्रममा अर्का प्रदेश सांसद काजीमान कागतेले स्थानीयको आर्थिक उर्पाजनको मुख्य स्रोत नै पर्यटक भएकाले सुगम ठाउँमा मात्र नभएर जिल्लाका दुर्गम क्षेत्रमा पनि पर्यटक लैजान वातावरण बनाउनु पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले इलाम आउने पर्यटकको बसाई लम्ब्याउने गरिका योजना अघि सानु पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामकी उप प्रमुख चित्रकला बराईली , सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराई , रोङ गाउँपालिका अध्यक्ष शमसेर राई , सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई , इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहाल सुब्बा लगायतले शुभकामना दिदै तीनै तहका सरकारले समन्वय गरी भ्रमण बर्ष सफल पार्न लाग्नु पर्ने बताएका थिए । उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्षको चिन्ह अंकित पर्यटन भ्रमण लोगो वितरण गरिएको थियो । कार्यक्रममा लोपउन्मुख लाप्चा सहित दर्जन बढी जातजातीको झाकी पदर्शन गरिएको थियो ।
हासपोखरी देखि पाथीभरामा पदयात्रा
भ्रमण वर्षको उद्घाटनको अवसरमा कुट्टीडाँडा देखि सानो पाथीभरा सम्म पदयात्रा गरिएको छ ।
पूर्वी पहाडी इलाम पाँचथर र ताप्लेजुङ्ग जिल्लाको प्रवेशद्धार रोङ गाउँपालिकाको हासपोखरीबाट धार्मिकस्थल सानो पाथीभरासम्म पदयात्रा गरिएको हो । पदयात्रामा प्रदेश सांसद धिरेन्द्र शर्मा , जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल , स्थानीय सरकारका प्रमुख , कर्मचारी, संघ संस्थाका प्रतिनिधि , पर्यटक लगायतको सहभागीता रहेको थियो ।

दशै स्थानीय तहमा भ्रमण बर्षका कार्यक्रम

इलाम जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा बुधबार भ्रमण बर्ष उद्घाटनका कार्यक्रम गरिएको छ । इलाम नगरपालिका , सूर्योदयन गरपालिका , माई नगरपालिका , देउमाई नगरपालिकामा बिभिन्न कार्यक्रम आयोजना गरियो । यस्तै इलामको माईजोगमाई गाउँपालिका , सन्दकपुर गाउँपालिका , माङसेबुङ गाउँपालिका , चुलाचुली गाउँपालिका , रोङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा बिभिन्न ¥याली सहितका कार्यक्रम गरिएको छ । भ्रमण बर्षको अवसरमा इलाम नगरपालिकाको इलाम बजारमा प्रभातफेरी निकालीएको थियो । यस्तै नेपाल भारत सिमा क्षेत्र गुफापातालमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । इलाममा भ्रमण बर्षमा पाँचलाख पर्यटक भित्रयाउने लक्ष्य राखीएको छ । इलामको कन्याम , अन्तु , सन्दकपुर लगायतका क्षेत्र भारतीय पर्यटकले भरीभराउ भएका छन ।
एक रुपैयाँमा पर्यटकलाई बास

होटल ब्यवसायी संघ इलामले भ्रमण बर्षलाई लक्षित गरी अघि सारेको योजना अनुसार इलाममा एक रुपैयामा १ रात खाने र बस्ने व्यवस्ता गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी एक रुपैयाँमा खान र बस्ने व्यवस्था गरेको हो ।
जापानी पर्यटक मितामुराले इलामका होटल ब्यवसायी थेवा तामाङले संचालन गरेको कटेजमा पर्यटक मितामुराले दुई छाक खाना निशुल्क ब्यवस्था गरिएको संचालक तामाङले बताए । तामाङले भने ‘ होटल ब्यवसायीको नाताले बिदेशी पर्यटकलाई आफुले स्वागत गर्न पाएकोमा खुसी छु ।’ जापानी पर्यटक मितामुराले पर्यटन भ्रमण बर्षको अवसरमा इलाममा पाएको आतिथ्यतता कहिल्यै नभुल्ने बताए ।
हेटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलका अनुसार अन्य तीन जना पर्यटकलाई पनि अन्य होटलमा रु १ मै खाने बस्ने ब्यवस्था गरिएको छ ।