विराटनगरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्याग्न आग्रह गरेका छन् । उनले सभापति देउवा एउटा गुटको मात्र सभापति जस्तो देखिएको आरोप लगाए ।
कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको इतिहाकसमा यस्तो कहिल्यै नभएको दाबी गरे । ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङ्ले बयरवनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने,‘‘कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको छ । कांग्रेसलाई अति राष्ट्रवाद र उग्रराष्ट्रवाद स्विकार्य हुँदैन । पार्टी सभापति सबैको साझा बन्न सक्नु पर्छ ।’’
२०३३ सालमा विपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्ककदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै रहेको दाबी गर्दै कोइलालो त्यतिबेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले विपिले राष्ट्रियताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको भनेको स्मरण गरे । कोइरालाले भने,‘‘प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जीवभर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।’’
वर्तमान सरकारले “नियन्त्रित प्रजातन्त्र’’ मार्फत मुलुकलाई एकदलय व्यवस्थामा लैजान लागि परेको उनको आरोप थियो । यो सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने,अध्यादेश मार्फत नागरिक र प्रेसका संवैधानिक हकअधिकार खोस्ने, न्यायालय कब्जा गर्ने,सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी काम गरेको कोइरालाको आरोप थियो ।
सरकारले गलत चरित्र देखाएकाले गणतन्त्रमाथि खत्तरा बढेको बताउँै भने, ‘‘मैले त सरकार कहाँ छ भनेर खोजिरहेको छु, कतै सरकार भेटेको छैन ।’’ डा. कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।
पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियता प्रति आलोचना गर्दै कोइरालाले भने, “संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थाल्नुले शंका उपशंका सिर्जना भएको छ ।’’ सरकारले यति होल्डिङ्स लगायत केही सीमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पत्तीमाथि अतिक्रमण गरिरहेको उनले आरोप लगाए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतिलाई छुट नभएको बताए । भने, ‘‘पार्टी विधिविधान अनुसार चल्नुपर्छ ।’’