इटहरीः मृगौला रोगका कारण घरमै थलिएका इटहरी निवासी प्रेस स्वतन्त्र सेनानी याम प्रधानको आज बिहान साढे ३ बजे निधन भएको छ । राससमा लामो समयदेखि कार्यरत प्रधान सुनसरीका पुराना अग्रज पत्रकार हुन् । पत्रकारिताका गुरु समेत रहेका उनि नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व सभापति समेत हुन् । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपुरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए । प्रेस यूनियनमा समेत आवद्ध उनि लामो समयदेखि घरमै उपचार गराईरहेका थिए । उनको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठन लगायतले दुःखद भन्दै सामाजिक संजाल मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार महासंघ सुनसरी शाखा दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताए । महासंघका अनुसार आज बिहान ८ बजे गंगा जमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने छ । प्रधानका एक छोरी र एक श्रीमति छन् ।