धरानः हिन्दू नारीहरूको पर्व भए पनि आदिवासी जनजातिको सघन बसोबास भएको धरानमा गैरहिन्दू महिलाहरूले पनि धुमधामसँग तीज मनाएका छन् । यहाँका क्षेत्री, ब्राह्मण समुदायका महिलाहरूले मात्र होइन, आदिवासी जनजाति महिलाहरूले पनि हरितालिका तीजमा व्रत बस्ने र मन्दिरमा गएर नाचगान गरेर रमाइलो गर्छन् ।

बुधबार धरान–१४ स्थित पिण्डेश्वर महादेवको मन्दिर परिसरमा आयोजित तीज विशेष कार्यक्रममा होस् वा धरान–१२ स्थित गीता मन्दिर परिसरमा आयोजित कार्यक्रममा होस् सबैतिर आदिवासी जनजाति समुदायका महिला पनि तीजमा रमाइरहेका थिए ।

‘तीज खासमा हिन्दू धर्ममा आस्था राख्ने महिलाहरूको हो भनिन्छ, तर यो समग्र महिलाहरूको चाड बनिसकेको छ,’ महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई भन्छिन्, ‘जाति र धर्म विशेष भन्दा पनि समग्र महिलाहरूको सद्भाव, सहिष्णुताको प्रतीकको रूपमा तीज मनाउने गरिएको देखिन्छ ।’

teej nesw (2)

तेस्रो लिङ्गीले पनि मनाए तीज
बुधबार धरानमा त अझ एक कदम अघि बढेर तीज मनाएको दृश्य देखियो । पिण्डेश्वर बाबाधाम समितिले व्यवस्थापन गरेको तीज विशेष कार्यक्रममा तेस्रो लिङ्गी समुदायले पनि तीज मनाए । त्यहाँ आयोजित कार्यक्रममा धरानका विभिन्न महिला समूहहरूले नृत्य प्रस्तुत गरेका थिए । सो नृत्यमा धरानकी तेस्रो लिङ्गी दिपिका राई पनि सहभागी भएकी थिइन् । उनले पनि अन्य महिलाहरूसँग तीज गीतमा छमछमी नाचेर रमाइलो गरिन् ।

यस्तै, धरान–१२ स्थित गीता मन्दिरमा दिदीबहिनी समावेशी समूहले पनि भव्य रूपमा कार्यक्रम गरी तीज मनाएको थियो । त्यहाँ पनि सबै जाति, समुदायका महिलाहरू नाचगान गरी तीज मनाएका थिए ।

तीजमा व्रत बसेर विवाहित महिलाहरूले आफ्नो श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् भने अविवाहित युवतीहरू आफूले चाहेजस्तो पति पाउने कामना गर्दै व्रत बस्ने चलन छ ।