विराटनगरः विराटनगरमा अब तीन सय ६५ दिन नै अर्थात वर्ष आउँदो एक वर्षभरि दश रुपैयाँमा एकछाक अघाउँजी खाना खान पाइने प्रबन्ध भएको छ ।
विराटनगरका राजनीतिकर्मी तथा समाजसेवी दिलिप धाडेवाले शुरु गरेको अभियानलाई अन्य दाताले समेत सहयोग गरेका छन् । धाडेवाले विराटनगरको काली मन्दिर अगाडि रु. १० मा बास्मती चामलको भात र राजमाको तरकारीसहतिको खाना खुवाउन शुरु गरेका थिए । यसको निरन्तरताको विषयमा चौतर्फी प्रश्न उठेको थियो । ‘‘तर, मैले शुभारम्भ गरेको अभियानलाई अन्य दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’’धाडेवाले भने,‘‘आउँदो एक वर्षसम्म खाना खुवाउन दाताले सहयोग गर्ने प्रतिबद्धता जनाएर नाम नै लोखाउनु भएको छ । अब अभियान रोकिनेवाला छैन् ।’’ धाडेवाले विपन्न मानिस तथा एकछाक खाना खान समस्या हुनेहरुलाई लक्षित गरेको अभियान शुरु गरिएको बताए । बिहान ११ बजेदेखि खाना खाने प्रबन्ध भएको हो ।
धाडेवा तथा उनका मित्रहरुले शुरु गरेको अभियानमा विराटनगर महानगरपालिकाले पनि चासो देखाएको छ । विहीबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि जैन भवन अगाडि राखिएको स्टलमा पुगेर रु. १० रुपैयाँ तिरेर खाना खाए । पराजुलीले भने,‘‘यो अभियान अत्यन्तै राम्रो छ । यसलाई निरन्तरता दिन महानगरले पनि सहयोग गर्नेछ । पराजुली आफूले पनि एक दिन सोही स्टलमा खाना खुवाउने प्रतिबद्धता जनाएका छन् ।’’ शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको थियो । मानिसको धेरै भींडभाँड भएपछि भने मेनरोडको जैनभवन अगाडि ल्याइएको छ ।
‘‘बासमती चामलको भात र झोल भएको एउटा तरकारी खानामा राख्ने गरिएको छ’’, धाडेवा भन्छन्,‘‘सित्तैमा कसैलाई पिन खुवाउँदैनौं । माग्नेहरु आएपनि रु. १० तिर्नैपर्छ किनभने उनीहरुले खानकै लागि माग्ने गर्छन । पौसा पनि पाएका हुन्छन् ।’’ कसैले घर लग्न चाहेका प्याक गरेर रु. २० तिरेर लैजाने व्यवस्था गरिएको धाडेवाले सुनाए । कोही दाताले माग्ने वा भिखारीलाई खुवाउन चाहेमा प्रतिव्यक्ति रु. ३० तिर्नुपर्ने नियम लगाइएको छ । अहिले जैन भवनको स्टल अगाडि पुगेर पाँचदेखि सात सय मानिसले रु. १० तिरेर खाना खाने गरेका छन् । तोकिएको भन्दा धेरै रकम दिन चाहनेका लागि सहयोग बाकस राखिएको छ उनीहरुले त्यहीं रकम हालिदिने गरेका छन् ।
तिरुपति क्याटरिङका सहयोगीले खाना र तरकारी बनाउँछन् । त्यसलाई प्लाष्टिकको प्लेटमा पस्केर दिने गरिन्छ । दैनिक रु. १८ हजारसम्म खर्च हुने गरेको छ । यो अभियानमा नन्दु तपडिया, उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरेको धाडेवाले बताए ।
सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ ।