धरानःधरानको पुर्वी उत्तरी दुर्गम पहाडी भुभागलाई जोड्दै कन्यापोखरी सम्म पुगिने सडकको प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले शिलान्यास गरेका छन् ।
धरान १५ स्थित निराजन बस्ती हुँदै धरानको वडा नम्बर ४ का पहाडी क्षेत्रलाई जोड्दै कन्यापोखरी हुँदै भेडेटार भएर पुर्वी पहाडी जिल्लालाई जोड्ने सडकको उनले विहिबार शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै सभामुख भण्डारीले जनताबाट निर्वाचित प्रतिनिधीहरुले बोलेर होईन जनअपेक्षा अनुरुप काम गरेर जनताको विश्वास जित्नुपर्ने बताए । सडक निर्माण सम्पन्न भए सँगै धरान नेपालको पूर्वि पहाडी जिल्लाहरु ईलाम, पाँचथर तथा ताप्लेजुङ्गसँग सिधा सम्पर्कमा जोडिने बताए ।
प्रदेश सरकारद्वारा बहुबर्षिय योजना अन्तर्गत करिब ३९ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त सडकको ठेक्का प्रक्रियाबाट निर्माणको जिम्मा गजुरमुखी लुम्बिनी जे. भि. को गजुरमुखी निर्माण कम्पनीले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि विदुर गौतमले तोकिएको अवधी भित्र नै गुणस्तरिय सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
देवीगाउँ कन्यापोखरी सडकले धरान ४ को विकट पहाडी भू–भागका जनताले धरान संगको सहजता महशुष गर्ने भएका छन् । सडकले निराजन बस्ति, हर्दिया, ढाडे, तेलनपुर हुँदै कन्यापोखरी जोड्ने भएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय, प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन ईञ्जिनियर शुसिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, ४ नं. वार्ड अध्यक्ष मानबहादुर राई, १५ नं. वार्ड अध्यक्ष नरेश कुमार ईवारामले सडक निर्माण हुन लागेको मा खुशि व्यक्त गर्दै सडक निर्माणका निमित्त आवश्यक भूमिका निर्वाह गर्नु भएकोमा सभामुख भण्डारी प्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा वार्ड नं. ४ का वार्ड सदस्यहरु, धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ, नेकपाका प्रदेश कमिटी सदस्य अईन्द्र विक्रम बेघा, जिल्ला कमिटी सदस्य प्रकाश राई, नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, क्षेत्रिय सभापती सुरेशमान श्रेष्ठ, नेकपाका धरान नगर अध्यक्ष नारायण प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।