भद्रपुरः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश सरकार समग्र जनताको आर्थिक जीवनस्तर उकास्ने विकास र निर्माणमा तीव्रगतिका साथ लागेको जनाउँदै चालू आर्थिक वर्ष शिलान्यासको वर्ष भएको बताएका छन्।

प्रदेशको तीन मुख्य गौरवको सडक आयोजनामध्ये झापाको भद्रपुर नगरपालिकादेखि इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेन सडकको आज शिलान्यास गर्दै मन्त्री आङ्बोले चालू आवभरि आयोजना शिलान्यासका समाचार आइरहने बताए ।

बजेटको ४७ प्रतिशतभन्दा बढी हिस्सा पूर्वाधार विकासले ओगटेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारको पहिलो वर्ष सङ्घीयता कार्यान्वयनका लागि कानून निर्माणको आधार वर्ष, दोस्रो वर्ष शिलान्यासको वर्ष र आउँदो वर्षदेखि उद्घाटनको वर्ष हुने बताए ।

मन्त्री आङ्बोले मेचीनगर–१५ ज्यामिरगढीमा आज भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजावस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको शिलान्यास गरेका हुन् । प्रदेश नं १ को पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजेशप्रसाद घिमिरेका अनुसार सो सडक निर्माणको ठेक्का सम्झौता २०७६ कात्तिक २० गते भएको थियो भने २०७९ असार ३१ गते आयोजना सम्पन्न गरिसक्ने म्याद तोकिएको छ ।

सडकको निर्माणलाई दुई खण्डमा ठेक्का लगाइएको छ । मेचीनगर–१० स्थित धुलाबारीदेखि उत्तरको २६ किलोमिटर सडकको ठेक्का विर्तामोडको कनकाई झापाली जेभीलाई ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा दिइएको छ भने धुलाबारी दक्षिणको नौ किलोमिटर सडकको ठेक्का अर्जुनधाराको हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई २५ करोड ३२ लाख ८४ हजार ८२२ रुपैयाँ ४८ पैसामा दिइएको छ ।

सडक शिलान्यास कार्यक्रममा निर्माणको ठेक्का लिने व्यवसायीले समेत समयमै निर्माणकार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । सडक निर्माणको काममा गुणस्तरमा कुनै सम्झौता नहुने र भनेबमोजिमको काम नभएको पाइए तत्काल कारवाही अघि बढाइने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताएका छन् ।