इलामः सुक्रबारदेखि वर्षासँगै लगातार परेको हिमपातले इलामको सन्दकपुरमा भारत र बंगलादेशका पर्यटकहरु अलपत्र परेका छन् । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको सन्दकपुर पुगेका भारत र बंगलादेशका पर्यटकहरु फर्कन नसकेर अलपत्र परेका हुन् । छोटो समयका लागि सन्दकपुर पुगेका धेरै जसो पर्यटक यातायात संचालनको कठिनाइका कारण सन्दकपुर डाँडामै रोकिएर बस्नु परेको स्थानीयहरुले बताएका छन् ।
३ हजार ६३६ मिटर उचाइको सन्दकपुर डाँडा दुई दिनदेखि हिउँले सेताम्मे छ । लगातारको हिमपातले कठयांग्रिने चिसो उत्तिकै बढेको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, टङ्लु, कालपोखरी, छिन्टापुलगायतका क्षेत्रमा पर्यटक रोकिएको ल्याण्डरोभर एसोसिएसन मानेभञ्ज्याङका अध्यक्ष पासाङ तामाङले जानकारी दिए । उनले भने ‘दुई दिनअघि पर्यटक लिएर गएका सवारी उतै थन्किएका छन्, बाटोमा हिउँ जमेकाले आइहाल्ने अवस्था छैन ।’

Ice-sandakpur-2

सन्दकपुरमा पुगेका स्वदेशी तथा विदेशी पर्यटक दुई दिनदेखिको हिमपात र वर्षाका कारण आफ्नो गन्तव्यमा फिर्न सकेका छैनन् । भारतको दार्जेलिगंबाट सन्दकपुर पुगेका पर्यटक पुकार भण्डारीले हिउँले सडकमा यातायत संचालन हुँन नसकेपछि रोकिनु परेको बताए । उनले भने ‘सन्दकपुर पुगेका बृद्धबृद्धा र बालबालिकालाई बढी समस्या छ । अन्य सवारी साधन नपुग्ने भएकाले सन्दकपुर जान ल्यान्डरोभरको विकल्प छैन् ।’
शनिबार पनि वर्षासँगै थप हिमपात भएकाले थप समस्या भएको सन्दकपुरका होटल व्यवसायी पेमाडण्डु शेर्पाले बताए । सन्दकपुरलगायतका क्षेत्रमा तीन फुट बढी हिमपात भएको शेर्पाले बताए । ‘हिउँ पर्न रोकिए पनि एक हप्तासम्म हिउँ नपग्लिने भएकाले यातायात संचालनमा अवरोध गर्छ ।’ सन्दकपुरमा स्वदेशी पर्यटकसँगै भारतको बिहार र बंगलादेशका पर्यटकको भ्रमण वर्ष सुरु भएसँगै भीड लागेको छ । उक्त क्षेत्रमा तेस्रो देशका पर्यटक पनि पुगेका छन् ।

Sandakpur-Ice

छोटो समयका लागि पुगेका पर्यटक त्यहीँ थन्किएपछि हिउँमा रमाउन पुग्ने पर्यटकलाई बास बस्नसमेत समस्या भएको छ । कठ्यांग्रीने चिसो र डाडामा तीब्र गतिमा चल्ने हावाका कारण पर्यटक घर बाहिर निस्कनसमेत सकेका छैनन् । थोरै संख्यामा डाँडामा रहेका होटललाई पर्यटक अटाउनसमेत समस्या छ । छोटो समयका लागि थोरै तयारीमा सन्दकपुर पुगेका पर्यटकको बसाइँ लम्बिएपछि उनीहरूलाई थप समस्या भएको छ ।
भारतीय बाटो प्रयोग गरी सन्दकपुर पुगेका बंगलादेशका पर्यटक सबैभन्दा बढी प्रभावित भएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए । पर्यटकीय क्षेत्र सन्दकपुरमा असोजदेखि जेठ महिनासम्म पर्यटकको घुइँचो लाग्ने गरेको छ । सूर्योदयको दृश्यावलोकन गर्न, दर्जनौँ हिमालको दृश्य अवलोकन गर्न र हिउँ खेल्नका लागि पर्यटक सन्दकपुर पुग्ने गरेका छन् ।