धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागि परेको बताएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान महोत्सवको समापन समारोहमा आइतवार बोल्दै मुख्यमन्त्री राईले लागनी सम्मेलन गरेर प्रदेशलाई रुपान्तरण गर्ने योजनाहरुको निर्माण गर्ने बताए । उनले आगामी बैशाख महिनामा लगानी सम्मेलन गर्ने तयारी प्रदेश सरकारले गरिरहेको बताएका छन् ।
लगानी सम्मेलनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ता भित्र्याएर समग्र प्रदेशको रुपान्तरण गर्न सक्ने योजनाहरु निर्माण गर्ने उनले बताए । धरान स्थापना दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन भन्दै आयोजना गरेको तीन दिने धरान महोत्सवमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले २०२० मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । राजनीतिक स्थायित्वपछि मुलुक समृद्धि तर्फ अघि बढेको भन्दै उनले समृद्धिको मुख्य आधार पर्यटन भएको बताएका छन् ।
उनले २० लाख मात्र नभइ विश्वका करोडौ पर्यटक नेपालको प्रकृति, सँस्कृति तथा हरेक किसिमको विविधता हेर्नका लागि लालायित भएको दाबी गरे । उनले अर्को प्रसंगमा भने धरान विभिन्न जातजातीको वसोवास भएको शहर हो जसले देशकै सुन्दर, प्रदेश नं १ कै सुन्दर, पर्यटकीय, ऐतिहासिक, जातिगत, साँंस्कृतिक हिसाबले सुन्दर, समृद्ध र विकासोन्मुख नगरी हो त्यसैले पनि धरान प्राथमिकतामा रहेको बताए ।
धरान डेको अवसरमा आयोजित ‘धरान महोत्सव’को समापन अवसरमा बोल्दै उनले स्मार्ट शहर बनाउन प्रदेश सरकारले १ करोड र खेलकुद ग्राम बनाउन ५ करोड छुट्याइएको बताए । । उनले धरानलाई स्मार्ट शहर बनाउन अध्ययन पनि भइरहेको बताए । धरान उपमहानगरपालिकाको आयोजना भएको तीन दिने महोत्सवमा विभिन्न कार्यक्रम गरिएको थियो । समापन समारोहमा विभिन्न जात जातिको मौलिक नृत्यको प्रदर्शन, डोरी तान्ने प्रतियोगिता, साग विजेता खेलाडीलाई सम्मान, घुम्न जाऔ धरान अंकित ब्यानर लिएर एक नं. प्रदेशका विभिन्न शहर पुगेका बुलेट बाइक राइडर्सलाई स्वागत जस्ता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा महानगरपालीका र धरान उपमहानगरपाले एक अर्कामा मायाको चिनो आदनप्रदान समेत गरिएको थियो ।