विराटनगरः प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने उमेदवारले आइतबार मनोनयन दर्ता गराएका छन् । नेकपा र कांग्रेसका उमेदवारले छुट्टाछुट्ै समूहमा विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नेकपाको पाञ्चाली स्थित कार्यालयबाट उमेदवार सहित निस्किएको ¥याली सबैभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालयमा अवस्थित राष्ट्रिय सभा सदस्य निवाचनको निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उमेदवार बनाएको छ ।
तीनै जनाले आइतबार सँगै मनोनयन दर्ता गराएका छन् । दाहालले मनोनयन दर्तापछि भने, ‘‘पार्टीले गरेको निर्णय अनुसार नै हामीहरु उमेदवार बनेका हौं ।’’ अब चुनावी प्रक्रियामा सामेल हुने दाहालले बताए । दाहाल तत्कालीन एमालेको झापा सचिव थिए । यसअघि उनी संसदीय निर्वाचनमा पनि उठेका थिए । दमकका बासिन्दा दाहाल पुराना कम्युनिष्ट नेता हुन ।
यसैगरी अछामी तत्कालीन एकीकृत माओवादीका नेता हुन । जनयुद्धकालदेखि नै सक्रिय उनी एक पटक राज्यमन्त्री समेत भइसकेका छन् । सुनसरीकी गौतम अनेमसंघकी पुरानी नेतृ हुन ।
नेपालीले कांग्रेसले झापामा राजेन्द्र कुमार घिमिरे, पाँचथरका निरबहादुर विक र सुनसरी धरानकी मीनापुलामी मगरलाई उमेदवार बनाएको छ । घिमिरे झापाका पुराना व्यवसायी हुन । यसअघि उनी झापा वाणिज्य संघको अध्यक्ष थिए । उद्योग तथा व्यापारिक क्षेत्रमा पहिचान बनाएका घिमिरे झापाको पुरानो सहर भद्रपुर निवासी हुन । घिमिरेले भने,‘‘व्यापारिक तथा व्यवसायिक क्षेत्रमा काम गर्नका लागि पनि मैले उमेदवारी दिएको हुँ ।’’उनले पार्टीले दिएको अवसरले व्यवसायिक क्षेत्रमा उत्साह थपिएको सुनाए ।
कांग्रेसका तर्फबाट प्रदेश १ मा खटिएकी नेतृ डा. डिला संग्रौलाले पार्टीले योगदान दिएका व्यक्तित्वलाई उमेदवार बनाएको बताइन । भनिन्, ‘‘राष्ट्रिय सभामा रिक्त रहेको पदपूर्ति गर्न चुनाव हुँदैछ । हाम्रा उमेदवारले जनअपेक्षा अनुसार काम गर्न र नेकपाको दम्भबारे जनतालाई जानकारी गराउन उमेदवारी दिनु भएको छ ।’’ संग्रौलाले अब चुनावी अभियानलाई तिव्रता दिइने बताइन ।
समाजवादी पाटीले महिला उम्मेदवारमा विराटनगरकी ३९ वर्षीया सदिना खातुनलाई बनाएको छ । यसैगरी ज्ञानुकुमार परियार र अन्यमा भरतराज दाहाललाई उम्मेदवार बनाएको छ ।
प्रदेश १ बाट राष्ट्रिय सभामा रिक्त भएको दलित एक, महिला एक र अन्य एक गरी तीन सदस्यका लागि वीरेन्द्र सभागृहमा मतदान हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता छन् । उनीहरुको मतभार भने फरकफरक छ । तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । १ नम्बर प्रदेशमा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् । स्थानीय तहका प्रमुख र उप्रमुख सहित दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने नौ हजार तीन सय ९६ हुनेछ ।
यो प्रदेशमा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित छ । तत्कालीन एकीकृत नेकपा माओवादीको जोड्दा नेकपाको मात्रै कुल मतभार ६७ प्रतिशत पुग्छ । माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार एक हजार ५६ छ । दुवै दलको जोड्दा कुल मतभार ६ हजार दुई सय ५८ हुन आउँछ । नेपाली कांग्रेसका प्रदेश नम्बर १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार दुई हजार दुई सय ३२ पुग्छ ।