इटहरीः नेकपा एमाले र माओवादी केन्द्रबीचको भएको पार्टी एकीकरण प्रक्रियाको ६ महिना समय पूरा भइसक्दा पनि भातृ सङ्गठनको एकतामा अझै अन्योल देखिएको छ ।
एमालेको भातृ सङ्गठन अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीबीचको एकता प्रक्रिया अन्योलमै छ । नामको विषयमा अनेरास्ववियु राख्ने सहमति भए पनि बाँकी काम हुन सकेका छैनन् । जसका कारण जिल्ला र मातहतका कमिटी निस्क्रिय बन्दै गइरहेको नेताहरू बताउँछन् ।
अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्ली थप सङ्गठन बिस्तार गर्नको लागि भन्दा पनि भएको सङ्ठन परिचालनमा समस्या परिरहेको बताउँछन् । पार्टी एकीकरण भए पनि मातहतका सङ्गठनको एकता हुन नसकेका कारण थप आन्दोलन तथा कार्यक्रमका एजेण्डा स्पष्ट हुन नसकेको उनको भनाइ थियो ।
‘एकीकरणको प्रक्रियामा ढिलाइ भइरहेको हुँदा आगामी नेतृत्वको विषयमा अलमल परिरहेको छ,’ उनी भन्छन्, ‘नेतृत्वको अभावको कारण नयाँ कार्यक्रम गर्न सकिएको छैन ।’
उनको जस्तै धारणा छ सुनसरी अध्यक्ष जीबी गजलको पनि । सङ्गठनको औपचारिक एकताको अभावले सङ्गठनको आन्तरिक सक्रियतामा समस्या आइरहेको उनी बताउँछन् । त्यही एकीकरणलाई पर्खिएर कुनै पनि आन्दोलन गर्न नसकिएको उनको भनाइ छ ।
‘पार्टीका केन्द्रीय नेताहरूको प्रत्यक्ष÷अप्रत्यक्ष हस्तक्षेप जारी छ,’ उनी भन्छन्, ‘विद्यार्थी सङ्गठन स्वायत्त भए पनि पार्टीको हस्तक्षेप बाट प्रभावित भइरहेको अवस्था छ ।’
पार्टी एकीकरण पछिको ऊर्जा बेलैमा सेलाएर जाने चिन्ता व्यक्त गर्छन् धनकुटा अध्यक्ष अङ्कित थापा । विद्यार्थीसँग सरोकारका विषयमा काम भइरहेको तर जुन गतिमा हुनुपर्ने त्यो हुन नसकेको उनी बताउँछन् । विद्यार्थी तथा युवा सङ्गठनको नेतृत्व टुङ्गो लाग्न नसक्दा साङ्गठनिक गतिविधि ओझेलमा परेका छन् । शीर्ष नेतृत्व अझै पनि भातृ सङ्गठनमाथि हस्तक्षेप गर्न उद्यत देखिएका छन् । उनी भन्छन्, ‘तिनै नेताहरूका कारण अहिलेसम्म सङ्गठन परिचालन र बिस्तारमा समस्या परिरहेको छ ।
विद्यार्थीबाहेक युवा तथा महिला सङ्घमा पनि एकीकरण सुरुवात हुन सकेको छैन । युवा सङ्घ र वाइसिएलबीचको एकता नाम र भागबण्डाको कारण अलमलमा परिरहेको छ । वाइसिएलका प्रदेश नं १ का स्वास्थ्य विभाग प्रमुख सचिन नेपाल एकीकरणपछिको नामको कारण समस्या परिरहेको बताउँछन् । पार्टीको केन्द्रीय नेतृत्वबाट सर्कुलर नआएका कारण एकता प्रक्रियाले मूर्त रूप लिन नसकेको उनको भनाइ छ ।
‘अहिले सङ्गठन हात्ती छि¥यो, पुच्छर अड्कियो अवस्थामा छ,’ उनी भन्छन्, ‘औपचारिक एकता घोषणा नहुँदा आन्तरिक सङ्गठन निस्क्रिय बन्दै गइरहेको छ ।’