विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
सञ्चारकर्मीसँग सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा उनले सङ्घीय गणतन्त्र स्थापनामा सञ्चारकर्मीको ठूलो योगदान रहेको उल्लेख गर्दै लोकतन्त्रमा विधि र नीतिका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा निर्माण गर्न मानव, पृथ्वी र वातावरणको सकारात्मक प्रयोग गरी दिगो पर्यटकीय क्षेत्रको विकास गर्न आग्रह गरे।
उनले नयाँ–नयाँ पर्यटकीय गन्तव्य क्षेत्रको आकर्षण सम्बन्धी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रमा लगानीकर्तालाई भित्र्याउन सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रमुख अधिकारीले सत्यतथ्यका आधारमा जनतामा समाचार पस्कन आग्रह गर्दै गलत कार्यलाई सुधार गर्दै गोप्य सूचनाको स्रोतको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, वरिष्ठ पत्रकार यज्ञ शर्मा र मोहन भण्डारीले भ्रमण वर्षलाई सफल बनाउन सञ्चारकर्मीले सक्रिय भूमिका खेल्ने बताए ।