धरानः प्रदेश १ कै एक मात्रै ईन्जिनियरिङ कलेज जहिले पनि विवादित बन्ने गरेको छ । विद्यार्थीहरुले प्रायः हरेक महिना जसो कलेजमा तालाबन्दी गर्ने गरेका छन् । विद्यालय व्यवस्थापन समितीको कमी कमजोरीका कारण जहिल्यै पनि कलेज परिषर तनावग्रस्त नै हुने गरेको छ ।
यसै बिच कलेजमा अध्ययन हुने ईलेक्ट्रिकल र आर्किटेक्टर फ्याकल्टि विषय नेपाल ईन्जिनियर काउन्सिलमा दर्ता गर्न माग गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
इलेक्ट्रिकल र आर्किटेक्चर फ्याकल्टिको पढाइ सुरु भएको ६ वर्ष पुगे पनि अहिलेसम्म काउन्सिलमा दर्ता नहुँदा इलेक्ट्रिकलका विद्यार्थीहरु विभिन्न अवसरबाट बञ्चित हुनुपरेको भन्दै विद्यार्थीहरुले काउन्सिलमा दर्ता गर्न माग गर्दै प्रशासनमा तालाबन्दी गरेका हुन् । पटक पटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभए पछि अनिश्चितकालिन तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुको भनाई छ ।
इलेक्ट्रिकलका दोस्रो ब्याचका विद्यार्थी सुमन दाहालले क्याम्पसबाट पास भइसकेपनि काउन्सिलबाट प्रमाण पत्र लिन बञ्चित हुनुपरेको गुनासो गरे । उनले भने, ‘लाइसेन्स नहुँदा कुनै पनि सरकारी कार्यालयमा जागिरका लागि निवेदन नै दिन पाएका छैनौ, नेपाल विद्युत प्राविधकरण, लोकसेवा आयोगले लिने कुनैपनि परिक्षा दिन नपाएपछि सरकारी सेवाबाट बञ्चित भएका छौ ।’ अध्ययन हुन थालेको ६ वर्ष वितिसक्दा पनि क्याम्पस प्रशासनले फ्याकल्टि दर्ता नगरिदिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
काउन्सीलमा फ्याकल्टि दर्ता नभएसम्म क्याम्पसको सम्पूर्ण पठन पाठन ठप्प पार्ने भन्दै विज्ञप्ती नै जारी गरेका छन् । इलेक्ट्रिकल सोसाइटी पूर्वाञ्चल क्याम्पसका अध्यक्ष समेत रहेका विद्यार्थी नेत्रप्रकाश अर्यालले माग पुरा नभएसम्म क्याम्पस प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘हामी भन्दा अगाडी पास भएर गएका विद्यार्थीहरुले रोजगारी नपाइराखेको अवस्था छ, भोली हाम्रो पनि सोही अवस्था हुने भएकोले फ्याकल्टि तत्काल दर्ता गर्न माग गर्दै तालाबन्दी गरेका हौ ।’
विद्यार्थीले यस अघि पटक पटक क्याम्पस प्रशासनसमक्ष फ्याकल्टि दर्ता गर्न माग गर्दै आएका थिए । विद्यार्थीले क्याम्पसको ध्यानाकर्षण गराउनेदेखि लिएर ज्ञापन पत्र समेत बुझाइ सकेका छन् । पछिल्लो समय १० दिने अल्टिमेटम दिएका थिए । सो समयमा पनि क्याम्पस प्रशासन मौन बसेपछि विद्यार्थी तालाबन्दीमा उत्रिएका हुन् । क्याम्पसको पठनपाठन ठप्प हुँदा करिब २ हजार विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।
क्याम्पस प्रमुख ओम प्रकाश ढकालले आफु गत जेठमा मात्रै क्याम्पस प्रमुखमा नियुक्ति भएकोले काम गर्न नसकेको बताए । क्याम्पस प्रमुख भई आए लगत्तै असारमा नै फ्याकल्टि दर्ता गर्ने प्रकृया अघि बढाएको उनले बताए । पछिल्लो समय काउन्सिलमा फ्याकल्टि दर्ता गर्न मन्त्री परिषद्को निर्णय चाहिने भएकोले अहिले क्याम्पसको फ्याकल्टि दर्ता गर्ने प्रकृया मन्त्री परिषद्मा भएको उनले बताए । इलेक्ट्रिकल फ्याकल्टिमा ९६ जना विद्यार्थी पास आउट भइसकेका छन् ।