धनकुटाःपूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहुुमतको दम्भमा पाटी अगाडी बढे त्यसको परिणाम भयाबह हुने बताएका छन् ।
जिपी फाउण्डेसनले धनकुटाको चौविसे गाउँपालिकाको मौनाबुधुकमा अयोजना गरेको कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा माथि बहुमतको आडमा पार्टीमा जमिन्दारी प्रथा लागू गर्न खोजेको आरोप समेत लगाए । उनले भने, ‘विधान लत्याएर सहमति र सहकार्यको कांग्रेसी संस्कृतिमा सभापतिले आगो लगाएका छन् ।’ विगतको नजिर समेत सभापति देउवाले कुल्चिएको उल्लेख गर्दै सिटौलाले रामचन्द्र पौडेल कार्यवाहक सभापति हुँदा देउवालाई समेत सोधेर महाधिवेशन घोषणा गरिएको कुरा स्मरण गराए ।
अधिकांस समय सभापति देउवा विरुद्ध खनिएका सिटौलाले सहमति, सहकार्य र एकताले मात्र पार्टी र मुलुकको हित हुने हुदाँ यसतर्फ नेतृत्वको ध्यान जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टहरुको अराजकता विरुद्ध भिड्नु पर्नेमा सभापति देउवाले कांग्रेसी–कांग्रेसीलाई नै आपसमा भिडाएको आरोप लगाए । उनले कागे्रेस घरभित्रको झगडामा फसेको भन्दै यो झगडालाई चाँडो अन्त्य गर्नु पर्नेमा जोड दिए । सभापति देउवाले सबैलाई दिशा निर्देश गर्नु पर्नेमा उहाँ नै विधान मिच्दै अगाडि बढेका छन्–नेता कोइरालाले आरोप थियो ।
नेपाली कांग्रेसको इतिहासमा सहमतिकै आधारमा महाधिवेशन घोषणा गर्ने स्थिति रहेको स्मरण गराउदै कोइरालाले यसैबाट समस्याको समाधान गर्नु पर्ने बताए । बहुमतका आधारमा सभापतिले स्वेच्छाचारी प्रवृत्ति देखाई रहेको उनको दाबी थियो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, तेह्रथुमका सभापति केदार ढुंगाना, महासमिति सदस्य आनन्द सन्तोषी राई, उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो लगायतले कांग्रेसको नेतृत्वमा विकास समृद्धिको अभियान सफल हुने बताए ।