सुनसरीः जिल्लाको इनरुवामा रहेको सरकारी अस्पताल मुलुककै सबैभन्दा कमजोर र लापरवाहीपूर्ण रुपमा सेवा प्रवाह गर्ने जिल्ला अस्पतालको सूचिमा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनमा इनरुवा जिल्ला अस्पताल नेपालकै सबैभन्दा ज्यादा कमजोर स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालको सूचिमा परेको हो ।
पहिलो चरणको अध्ययनमा मुलुकमा सञ्चालित इनरुवा सहित ८३ वटा अस्पतालहरुमा न्यूनतम सेवा प्रवाह नभएको निष्कर्श सहित सबै अस्पतालहरु परिक्षामा असफल भएको थियो । दोस्रो र तेस्रो चरणमा अधिकांशले आफ्नो शैली सुधार गरेर आफूलाई पूर्ण असफल अस्पतालको सूचिबाट बाहिर निकाले पनि इनरुवा अस्पताले भने यो समयमा कुनै सुधारको प्रयास नगर्दा असफल भएको हो ।
मन्त्रालयले विभिन्न आठ शिर्षकमा २ सय ९० वटा प्रश्न बनाएर ३ सय ५० पूर्णाङ्कमा परिक्षा लिएको थियो । मन्त्रालयले पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा अध्ययन गरेको थियो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा बृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रुपमा दिने उद्देश्यले क्षमता मुल्याङ्कन गर्न मन्त्रालयले परिक्षा लिएको हो । जसमा इनरुवा सहितका मुलुक भरीका ६ अस्पताल सबैभन्दा कम अर्थात ३८ प्रतिसत भन्दा कम अंक ल्याएका थिए ।
स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष सरकारी अस्पतालहरुको न्यूनतम सेवा मापदण्डको लागि २४ लाख देखि ४० लाख र एनएसआई नामक संस्थाले पाँच लाख अनुदान दिदै आएको छ । यसबाहेक इनरुवा अस्पताललाई प्रदेश १ सरकारले पनि आफ्नो मातहत रहेकोले निश्चित बजेट उपलब्ध गराउँदै आएको छ । न्यूनतम सेवा प्रवाहको लागि बजेट उपलब्ध भएपनि इनरुवा अस्पतालको सबै सेवाहरु प्रायः कमजोर रहँदै आएको छ ।
निःशुल्क उपलब्ध गराउनु पर्ने औषधीहरु वर्षमा आधा समय उपलब्ध हुँदैन । करिब एक दर्जन चिकित्सक रहेपनि ओपीडी र आकस्मिक कक्षमा बसेर उपचार गर्ने चिकित्सकहरुको सधै अभाव हुने, सामान्य सल्यक्रिया समेत नहुने र सामान्य भन्दा सामान्य रोगीलाई पनि विराटनगर लगायतका ठाँउमा रहेका ठूला अस्पतालमा रिफर गर्ने संस्कार रहँदै आएको छ ।
इनरुवा अस्पताल ब्यवस्थापन समितिमा रहेका अधिकांश पदाधिकारीहरुले आफ्ना मानिसलाई अस्पतालमा जागिर खुवाएका छन । यसका अतिरिक्त अस्पताललाई आवश्यक औषधीदेखि अन्य उपकरणहरु इनरुवा नगरपालिकाले पनि बेला बेलामा उपलब्ध गराउँदै आएको छ । तर पनि सेवामा सुधार आएको महसुस सेवाग्राहीले गर्न पाएका छैनन ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारी अस्पताल प्रमुखको रुपमा जिम्मेवारी सम्हाली रहेकी मेडिकल सुप्रिटेण्डेन्ट बिना शाक्यको लापरवाहीका कारण इनरुवा अस्पतालको दुरावस्था भएको आरोप लगाउँछन । अस्पताल प्रशासनले निर्णय गरेर स्तरीय सेवा प्रवाहका लागि निर्देशन सहित साधन स्रोतको ब्यवस्थापन गर्दा समेत शाक्यले बेवास्ता गर्ने गरेको, दुई चार दिन अस्पतालमा बसेर अधिकांश समय काठमाडौमा गएर बस्ने गरेको, इनरुवा बस्दा पनि अधिकांश समय निजी क्लिनिकमा समय दिने गरेकोले अस्पताल सुधार हुन नसकेको भन्दै उसको सरुवा नगरेसम्म इनरुवा अस्पताल नसुध्रने दावी गरे ।
मेडिकल सुप्रिटेण्डेन्ट बिना शाक्यले असार महिना अघिको कामको आधारमा मन्त्रालयले ग्रेडिङ गरेको तर त्यसपछि अस्पतालमा धेरै सुधार भईसकेको बताउँदै आगामि ग्रेडिङमा अस्पतालको अवस्था माथि आउने दावी गरिन ।