धरानःपब्लिक हाईस्कुल धरान १२ को बुधबार सम्पन्न अभिभावक भेलाले नयाँ व्यवस्थापन समितिको छनौट गरेको छ ।
शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ मा २ जना महिला सहित ४ जना सदस्यहरुको छनौट गर्ने व्यवस्था भए बमोजिम छनौट गरिएको हो । भेलाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरु मध्येबाट सर्वसम्मत् अलिम अन्सारी, विवेक राई, श्याम कुमारी तामाङ (श्रेष्ठ) र निर्मला अधिकारी (कट्वाल) छनौट गरेको हो ।
छनौट भएका ४ जना सदस्य सहित समितिमा सम्बन्धित वडाका वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि पदेन सदस्य हुनेछ । ७ जनाको समितिले जग्गादाता र चन्दादाता मध्येबाट १ जना र बुद्धिजिविहरु मध्येबाट १ जना मनोनयन गर्ने छ । समितिका ९ जना सदस्यहरुबाट अध्यक्ष छनौट गर्ने प्रावधान रहेको स्कुलका प्रधानाध्यापक ईन्द्रमोहन झाले बताए ।
हरिबहादुर कार्कीको अध्यक्षतामा रहेको समितिको कार्यकाल पुष २९ गते समाप्त हुनेछ । त्यस पछि नयाँ समितिको पदावधि शुरु हुने झाले बताए । समितिले विद्यालयको पठनपाठन, व्यवस्थापन र भौतिक विकास निर्माणको कार्यलाई चुस्त दुरुस्त बनाउन भुभिका निर्वाह गर्ने वताउदै यस विद्यालयमा सरल, सहज प्रजातान्त्रिक विधि अनुरुप व्यवस्थापन समिति गठन भएको धरान उपमहानगरपालिका शिक्षा, यूवा, तथा खेलकुल महाशाखा अधिकृत मनोज भट्टराईले वताए ।
पव्लिक हाईस्कुल २००३ सालमा स्थापना भएको धरानको सवैभन्दा पुरानो विद्यालय हो । विद्यालयको विकाशमा पुर्व विद्यार्थी संघले धेरै सहयोग गरिरहेको बताउदै व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले नमुना विद्यालय महत्वपूर्ण भुमिका निर्वाह गर्ने धरान १२ का वडाध्यक्ष टंक राईले विश्वास व्यक्त गरे ।
प्राविधिक विषयहरु समेत पढन पाढन हुने विद्यालयमा १९ सय विद्यार्थी, ७६ शिक्षक कर्मचारी रहेका छन् । प्रारम्भिक बाल विकास केन्द्रमा आउने बालबालिकाहरुका लागि खेल उद्यान र टाढाबाट आउने विद्यार्थीहरुका लागि स्कुल बसको समेत सुविधा छ । हिजोका दिनहरुमा निजि विद्यालय प्रतिको आकर्षण बढ्दै गएपनि अहिले शैक्षिक गुणस्तर, शैक्षिक व्यवस्थापन राम्रो भएकाले विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ ।