इटहरीःपृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेको धनकुटाको साँगुरीगढी गाँउपालिका स्थित साँगुरीगढीबाट लेउती फेंदीसम्म आज(शनिवार) पदयात्रा गरिएको छ । एकिकरण दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाको बरख गणको आयोजनामा ९ किलोमिटरसम्मको पदयात्रा गरिएको हो । पदयात्रामा नेपाली सेना, प्रहरी, होटल तथा पर्यटन व्यवसायी,राजनितिकर्मी,संचारकर्मी लगायत गरि ४ सयबढीको सहभागीता रहेको थियो । धरान धनकुटाको राजमार्ग बन्नु अघि यही बाटो हुदै पहाडी जिल्लाहरुको यात्रा गरिन्थियो । यो बाटो हुदै धनकुटा,तेह्रथुम, भोजपुर, संखुवासभा र ताप्लेजुगंसम्म यात्रा गरिनुका साथै नून लगायत खाद्यान्न सामाग्री ओसार पोसार गर्ने गरिएको होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । हाम्रा हजुर बुबा र बुबाहरुले प्रयोग गरेको बाटोको प्रमोशनका साथै पर्यटन बर्ष २०२० मा २० लाख पर्यटन ल्याउन सरकारको योजनालाई पनि केही मात्रामा सहयोग गर्नका लागि पदयात्रामा सहभागी भएको होटल एशोशिएसन भेडेटारका निर्वतमान अध्यक्ष लिलाराज लावतीले बताए । पदयात्रामा साँगुरीगढी गाँउपालिका, धनकुटा नगरपालिका, रेडक्रस, आमा समूह भेडेटार, जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा,शसस्त्र प्रहरी धनकुटा, सेवक अभियान धरान लगायत संघ संस्थाहरुको सहयोग रहेको होटल एशोशिएसन भेडेटारका महासचिव आशिष राईले बताए ।
नून मार्गको रुपमा स्थापीत मार्गलाई पर्यटकिय दृष्टिले विकास गरि आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो पदमार्गका रुपमा नून मार्गलाई दैनिक प्रयोगमा ल्याउन सकिने होटल एशोशिएसन भेडेटारका सह कोषाध्यक्ष रमेश श्रेष्ठले बताए । आफुले पनि पहिलो पटक यो मार्गको यात्रा गरेको उनले बताए । पदयात्राका लागि नून मार्ग उत्कृष्ठ पदमार्ग रहेको आफुले पाएको उनले जनाए । नेपालको एकिकरण गर्दा प्रयोग भएको ऐतिहासिक नून मार्गलाई देश विदेशसम्म प्रचार र यसलाई बचाई राख्नका लागि होटल एशोशिएसन, पर्यटन व्यवसायी लागिपर्ने पर्यटन व्यवसायी समेत रहेका होटल एशोशिएसन भेडेटारका अध्यक्ष रुम्दाली राईले बताए । यो ऐतिहासिक मार्गको महत्वलाई नेपाली सेनाले बुझेर पदयात्राको आयोजना गर्यो , सोही अनुसार स्थानीय सरकारले पनि महत्वमा राखे सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए । पदयात्रा साँगुरीगढीमा आएपछि टुंगिएको थियो । पदयात्रा सकिनुअघि नेपाली सेनाको २ नम्बर बाहिनीपति सहायकरथी यामप्रसाद ढकाल,धनकुटा नगरपालिकाकी उपमेयर सकुन्तला बस्नेत र साँगुरीगढी गाँउपालिकाका अध्यक्ष कुमारजंग याख्खा लगायतले आ आफ्नो विचरा राखेका थिए । पदयात्रामा सहभागी सबैलाई होटल एशोशिएसन भेडेटारले खाजा चियाको व्यवस्था गरेको थियो ।