धरानः समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको हाहाकार शुरु भए संगै धरानमा आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक हुन थालेका छन् । वडामा पानीको अभाव देखिन थाले पछि जनप्रतिनिधीनै आन्दोलनमा उत्रिएका छन् ।
एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा संचालन भएको धरानको खानेपानी परियोजना अन्र्तगत खानेपानी संस्थान बिच आन्तरिक द्वन्द बढ्दै गए पछि खानेपानीको समस्या समाधान हुन सकेको छैन् । खानेपानी संस्थानले कृतिम अभाव शिर्जना गरेको भन्दै धरानका वडाध्यक्ष नै पानीको महसुल नतिरौं भन्दै आन्दोलनमा लागेका हुन् ।
धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल जनता भेला गर्दै पानीको लागि संघर्षमा लागेको घोषणा गरेका छन् । शनिबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै फिक्स समयमा पानी नछाडेको, कृतिम अभाव सिर्जना गरेको भन्दै धरान–९ वडाबासी वडाध्यक्षकै नेतृत्वमा आन्दोलित बनेका हुन् । उनले पानीको महसुल नतिर्ने चेतावनी पनि दिएका छन् । उनले भने, ‘सबै धरानबासीले नै पानीको महसुल नतिर्न आह्वान गर्दछु ।’
खानेपानी संस्थानले उपभोक्तालाई थप पाइप विछ्याउन लगाउँदै व्यापार गरेको आरोप लगाउँदै वडाअध्यक्ष कटुवाल सहित वडावासीले समयमा पानी उपलब्ध नगराएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । वडाअध्यक्ष कटुवालले भने, ‘धरान खानेपानी बोर्ड र खानेपानी संस्थान बीचको द्वन्द्वले धरानमा धरानेले खानेपानी पिउन पाएका छैनन्, जहिल्यै हिउँद याममा काकाकुल नै बस्नुपर्ने ?’
स्थानीय दीपपथकी निर्मला आले मगरले एकघैला पनि पानी नआएको धेरै महिना बितिसकेको बताइन् । उपभोक्ता कुमार कटुवालले थप पाइप विस्तार गर्न लगाएर खानेपानी संस्थानले व्यापार गरिरहेको आरोप लगाए । धरानबासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई पानी बेचेको स्थानीयबासीको आरोप छ । स्थानीयबासी शिव राईले भने, ‘बीपी प्रतिष्ठानलाई पानी बेच्ने खानेपानी संस्थानले धरानलाई काकाकुल बनाउन पाइँदैन ।’
पानीको पर्याप्त स्रोतहरुबाट पानी आए पनि पानीकै लागि धराने जनता आन्दोलनमा उत्रनु पर्ने बाध्यता विडम्बना रहेको महेश श्रेष्ठले बताए । उनले भने, ‘पानी नभएको होइन, पानी छ, एडिबीले पनि पानी दिइरहेको छ, उता सर्दुखर्दु आदि स्थानबाट पनि पानी आइरहेको छ, यति हुँदाहुँदै पनि धरानको जनता आन्दोलनमा उत्रिनुपर्ने विडम्बना हो ।’ उनले सर्दु, खर्दु, एडिबी जे भनेपनि धरानको पानी धराने जनताले खान पाउनुपर्ने बताए ।
उनीहरूले कसमसेकम धरानबासीले एकघण्टा पानी खान पाउनुपर्ने माग राखेका छन् । ‘कमसेकम समय फिक्स मिलाएर एकघण्टा त पानी दिऔं न’, वडाध्यक्ष कटुवालले भने, ‘पानी दिन किन कन्जुस्याइँ भइरहेको छ ?’ वडाध्यक्ष कटुवालले यहाँको वडाबाट सिक्दै अन्य वडाले पनि आन्दोलन थाल्नुपर्ने बताए ।