विराटनगरः कार्यक्रम संचालन बालबालिकाले नै गरिरहेका थिए । दर्शक र स्रोता पनि अधिकतर उनीहरु नै थिए । स्टेजमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथिको आसनमा थिए ।
छेवैमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल थिए । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ बालमैत्री घोषणा हुन आइतबार आयोजित कार्यक्रममा थारु समुदायका अभिभावकको सहभागिता उल्लेख्य देखिन्थ्यो । तर, बालमैत्री वडा घोषणा गर्न बालबालिकाले भने नौलो अभियानको शुरुवात गराउने तयारी गरेका थिए ।
कार्यक्रम संचालकले प्रमुख अतिथि मन्त्री घिमिरेलाई वडालाई बालमैत्री घोषणा गर्न आग्रह गर्दै पाँचजना किशोरीलाई सेनिटरी प्याड वितरण गर्न आह्वान गरे । मन्त्री घिमिरेले वीरेन्द्र माविका ती किशोरीहरुलाई उपहारस्वरुप प्याडका प्याकेट हस्तान्तरण गरेर ग्रामथान १ लखन्तरीलाई बालमैत्री घोषणा गरे । कार्यक्रममा सहभागी बालबालिका र किशोरीहरुले ताली बजारएर मन्त्रीलाई सम्मान गरे । त्यसपछि मन्त्री घिमिरे नजिकै सडकमा राखिएको बालमैत्री वडाको सन्देश लेखिएको बोर्डको पर्दा हटाए । घिमिरेले भने,‘‘बालविवाहमुक्त हुँदै ग्रामथानको यो वडा बालमैत्रीतर्फ अग्रसर बन्न सफल भएकोमा बधाई छ ।’’ उनले घोषणा मात्र ठूलो भएर यसलाई सार्थक बनाउनु नै चुनौतीपूर्ण भएको सुनाए । प्रदेश सरकारले बालबालिकालाई केन्द्रमा राखेर बजेट र विकासका कार्यक्रम बनाउन शुरु गरेको घिमिरेले बताए ।
वडा नम्बर १ का वडाअध्यक्ष नमोनारायण माझीले वालविवाह मुक्त गरेपछि नै वडालाई बालमैत्री बनाउन आफूहरुले प्रयास थालेको बताए । २०७४ सालदेखि शुरु गरिएको अभियान सार्थक बनाउन दाता र गैरसरकारी संस्थाको समेत ठूलो सहयोग रहेको बताउँदै भने,‘‘बालमैत्री वडा बन्नका लागि सबै सूचक पूरा गरियो । वल्र्ड भिजन र नारी विकास संघको सहयोगले नै हाी सफल भयौं । बालबालिकाको भूमिका र सहयोग अपरिहार्य थियो ।’’ उनले अभियानमा नौवटा बालक्लब, विद्यालय क्लब, वडा बाल समितिले धेरै मेहनत गरेको बताए ।
जिसस प्रमुख नरेश पोखरेलले अब ग्रामथानलाई नै बालमैत्री बनाउन प्रयास थालिनु पर्ने बताउँदै ग्रामथान १ लखन्तरी मोरङको पहिलो बालमैत्री वडा बन्न सफल भएको सुनाए । बालमैत्री वडा बन्न पूर्णखोप सुनिश्चित, बालबालिकाको पोषण, वालविवाहमुक्त लगायत धेरै बाल अधिकारसंग सम्बन्धित विषय पूरा गर्नुपर्ने पोखरेलले बताए ।
समाज कल्याण परिषदका सहसचिव राजेन्द्र पौडेलले नेपाल सरकारले स्थानीय सरकारहरुमार्फत बालमैत्री शासन कार्यान्वयन गर्न शुरु गरेको बताए । भने,‘‘सरकारले यो अभियानलाई देशभर संचालन गर्दैछ ।’’ कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण माझीलगायतले बालबालिकालाई केन्द्रभागमा राखेर विकासको खाका तयार गर्नुपर्ने सुझाएका थिए । वडालाई बालमैत्री र बाल विवाहमुक्त बनाउन वल्र्डभिजनसंगको सहकार्यमा नारी विकास संघले तीन वर्षदेखि कार्यक्रम संचालन गर्दै आएको संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले बताइन ।

bbbbbbb-768x433